उच्च ज्वरोले दुई सातामा चारको मृत्यु, दुई वडाका ५१ जनामा स्क्रबटाइफस

पालिकाका चार जनाको उच्च ज्वरोबाट मृत्यु भएको र धेरैमा ज्वरोको प्रकोप देखिएपछि दार्मामा स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

कार्तिक १७, २०८२

विप्लव महर्जन

Four die of high fever in two weeks, 51 people in two wards infected with scrub typhus

सल्यान — उच्च ज्वरोका कारण दुई सातायता सल्यानको दार्मा गाउँपालिकाका चार जना महिलाको मृत्यु भएको छ ।

दुई सातायता केही दिनकाे फरकमा उपचारका लागि नेपालगन्ज लगिएका चार महिलाको मृत्यु भएकाे हाे । 

ज्वरोका बिरामी बढेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान, दार्मा गाउँपालिका र स्थानीय जेनजी समूहको संयुक्त आयोजनामा वडा ३ र ५ मा संचालित दुई दिने शिविरमा स्वास्थ्य तथा रगत परीक्षण गर्दा ५१ जनामा स्क्रबटाईफस र दुई जनामा डेंगी पुष्टि भएको छ ।

पालिकाका चार जनाको उच्च ज्वरोबाट मृत्यु भएको र धेरैमा ज्वरोको प्रकोप देखिएपछि दार्मामा स्वास्थ्य शिविर संचालन गरिएको थियो । 

दार्मा गाउँपालिका ३५ देखि ५५ वर्ष उमेर समूहका चार महिलाको दुई सातायता नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । धेरै दिन उच्च ज्वरो आएर थला परेपछि उपचारका लागि नेपालगन्ज लगिएको उनले बताए । यहाँ स्क्रबटाइफस पहिचानका लागि जिल्ला अस्पतालमात्रै परीक्षण सुविधा छ ।

शिविरमा वडा ३ मा ६७ जनामा स्क्रवटाइफस परीक्षण गरिएकोमा २३ र वडा ५ मा ६१ जनामा परीक्षण गरिएकोमा २८ जनामा स्क्रबटाइफस देखिएको थियो । दुई दिन संचालित शिविरमा ४ सय १२ जनाले परीक्षण र उपचार सेवा लिएका थिए । स्क्रबटाइफस र डेंगी देखिएका सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि चलाएको बस्नेतले जानकारी दिए । संक्रमण फैलन नदिन पालिकाका अन्य वडामा गएर पनि ज्वरो आएका विरामीको स्वास्थ्य परीक्षण गरिने उनले बताए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले ज्वरो र स्क्रबटाइफसको प्रकोप बढिरहेको र उच्च ज्वरोका कारण चार जना महिलाको मृत्यु भएपछि शिविर संचालन गरेर स्वास्थ्य परीक्षण गर्नुपरेको बताए ।

तीन महिनायता दार्मा गाउँपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा १ सय १ जना र अन्य पालिकाबाट जिल्ला अस्पतालमा उपचार गर्न आएका ५९ जनामा स्क्रबटाइफस पाइएको छ । अहिलेसम्म एक पुरुषको स्क्रबटाइफस र ४ महिलासहित ६ जनाको उच्च ज्वरोले मृत्यु भइसकेको उनले बताए ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully