सहयोग स्वरूप उठेको रकम प्रतियोगिताकाे पुरस्कार तथा मेला व्यवस्थापनमा खर्च गर्ने र बचेको अर्को वर्षको मेलाका लागि राख्ने निर्णय गरेका छन् ।
रुकुम पश्चिम — दसैं, तिहार, छठजस्ता ठूला चाडबाड सकिए पनि रुकुम पश्चिमका गाउँमा बिभिन्न मेला, उत्सव र खेलकुद प्रतियोगिताको रौनक कायमै छ ।
पेसाकर्मले देश विदेश पुगेका युवाले चाडबाडको छेकोमा गाउँ फर्किएका बेला स्थानीय स्तरमा विभिन्न जमघटलाई उत्सवमय बनाउन पहल गरेका हुन् ।
दातालाई सार्वजनिक आह्वान गरेर सहयोग जुटाएर स्थानीय मेला–पर्वलाई उत्सवमय बनाउने तथा विभिन्न खेलकुद गतिविधि संचालन भइरहेका छन् । दाताहरूकै सहयोगबाट आठबीसकोट नगरपालिका–९ राडी बजारमा ‘चौतारा मेला’ चलिरहेको छ । स्थानीय युवाको सक्रियतामा आयोजना गरिएको यो मेलाका लागि पनि देशविदेशमै रहेकाबाट सहयोग संकलन गरिएको हो ।
मेला आयोजक समितिका अध्यक्ष थोमसविक्रम शाहका अनुसार अहिलेसम्म करिब ४ लाख नगद संकलन भएको छ भने सहयोग उठ्ने क्रम जारी छ । ‘बिहीबारदेखि सुरु भएको यो मेला एक सातासम्म संचालन हुनेछ,’ उनले भने, ‘धेरै वर्षदेखि आयोजना गरिंदै आएको यो मेलामा हामीले तीन वर्षयता स्थानीय युवाकै सक्रियतामा सहयोग संकलन गरेर संचलन गरिरहेका छौं ।’
मेलामा यसपल्ट खुला महिला तथा पुरुष भलिबल तथा पुरुष ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । सहयोग स्वरूप उठेको रकम प्रतियोगिताका विजेतालाई पुरस्कार तथा मेला व्यवस्थापनमा खर्च गर्ने र बचेको रकम अर्को वर्षको मेलाका लागि राख्ने आयोजकले जनाएको छ ।
जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–१ खलंगाको बराहटाकुरामा दसैंको छेको पारेर असोज ७ देखि १३ सम्म मुसीकोट ब्याइजले विजेतालाई १ लाख ११ हजार १ सय ११ र उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार राखेर फुटबल प्रतियोगिता सम्पन्न गर्यो ।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष राजु थापाका अनुसार देशविदेशमा रहेका दाताबाट करिब ५ लाख रुपैयाँ नगद जुटाएर पहिलोपल्ट प्रतियोगिता गरिएको थियो । ‘अघिपछि आफ्नो कामकाजमा व्यस्त हुने साथीभाइ भेटेर मित्रता बढाउने साथै खेल र खेलाडीलाई समेत हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका थियौं,’ उनी भन्छन्, ‘संकलित रकमले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्यौं । आम्दानी र खर्चबारे सबै हिसाब–किताब गर्दा अगामी वर्षमा थप व्यवस्थित गर्ने जाँगर आएको छ ।’
सानीभेरी गाउँपालिकामा असोज तेस्रो साता ‘सानीभेरी प्रिमियर लिग’ अन्तरगत क्रिकेट प्रतियोगिता आयोजना गरियो । देश तथा विदेशमा रहेका र स्थानीय समेत गरी जम्मा ६८ जना दाताबाट संकलन भएको ६ लाख ४७ हजार १ सय ८८ रुपैयाँबाट यो कार्यक्रम गरिएको थियो ।
आयोजक समिति सदस्य नारायण ओलीका अनुसार प्रतियोगितामा सहभागी जम्मा २० टिम मध्येबाट विजेतालाई १ लाख १ हजार १ सय ११ र उपविजेतालाई ६० हजार तथा सान्त्वनामा परेका २ टिमलाई १०/१० हजार नगद पुरस्कार दिइएको थियो । ‘दाताहरुबाट उठेको सहयोगबाटै पुरापुर खर्च व्यवस्थापन भयो । हामीले यसबाट ३ लाख ९० हजार ४ सय ६१ रुपैयाँ खर्च गरेर २ लाख ५६ हजार ७ सय २७ बचत गर्न सफल भयौं,’ ओली भन्छन् । बचत रकम अर्को वर्ष लिग गर्ने योजना रहेको छ ।
दाताबाटै सहयोग उठाएर तिहारमा चौरजहारी नगरपालिका–११ चौफा बजारमा आयोजना गरिएको कागतिहार विशेष मेलामा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताका साथै चेस र लोकदोहोरी प्रतियोगिता संचालन गरियाे । दाताबाट करिब ४ लाख नगद रकम संकलन गरिएको मेला आयोजक समितिका अध्यक्ष लोकेस मल्लले जानकारी दिए ।
स्थानीय मौलिक नाचगान समेतको प्रस्तुतिका साथमा आयोजना गरिएको यो मेलाबाट ५० हजारजति बचत गरिएको छ । ‘चाडबाडका बेला गाउँमा भएको जमघटलाई थप रौनक दिन र स्थानीय प्रतिभालाई उजागर गर्न दाताहरुलाई अनुरोध गर्यौं । सबैको सहयोगले कार्यक्रम सम्पन्न भयो,’ उनले भने ।
यसबाहेक जिल्लाका बिभिन्न स्थानमा जिल्ला, पालिका र वडा स्तरीय साना–ठूला प्रतियोगिता संचालन गरिरहेका छन् । यस्ता गतिविधिले सहिष्णुता बढाउने र खेल गतिविधिलाई चलायमान बनाउन टेवा पुगेको जिल्ला क्रिकेट संघका उपाध्यक्ष गोपाल लामिछानेले बताए । सरकारको सहयोग र प्रत्यक्ष सहभागिता बिना पनि यसरी खेल गतिविधि हुनु सुखद् भएको उनले बताए ।
‘सरकारी तहबाट हुनुपर्ने खेलकुद गतिविधि युवाको सक्रियतामा भएको छ । यसलाई सकरात्मक रुपमा लिनुपर्छ,’ उनले भने ‘खेलकुदसँगै स्थानीय कला–संस्कृति प्रवर्द्धन गर्न पनि यस्ता कार्यक्रमको ठूलो भूमिका छ । यसमा सरकारले सकेको सहयोग गरेमा झनै प्रभावकारी हुनेछ ।’
सानीभेरी प्रिमियर लिगका आयोजक समिति सदस्य नारायण ओलीले प्रतियोगिता सकिएको एक साताभित्रै आम्दानी र खर्च विवरण सार्वजनिक गरेको बताए । ‘आफूले गरेको सहयोग सही ठाउँमा प्रयोग भए/नभएको दाताहरूले चासो राखेका हुन्छन् । हामीले सबै खर्चपर्च सार्वजनिक गरिसकेका छौं ।’
