आगलागीपछि कर्णाली प्रदेशसभामा दैनिक प्रशासनिक काम मात्र भइरहेको छ ।
सुर्खेत — गत भदौ २४ गते कर्णाली प्रदेशसभा सचिवालयमा तोडफोड र आगजनी भयो । आगजनीका क्रममा २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुईवटा विषयगत समितिका भवनहरु पूर्णरुपमा ध्वस्त भए । जसका कारण कर्णाली प्रदेश सरकारले संसद् अधिवेशन आह्वान गर्न सकेको छैन ।
आगलागीपछि कर्णाली प्रदेशसभामा दैनिक प्रशासनिक काम मात्र भइरहेको छ । आगजनीका कारण अधिकांश कार्यकक्ष, कागजात, फर्निचर, कम्प्युटर, विद्युतीय उपकरणलगायत सामग्री नष्ट भएपछि संसद् अधिवेशनका अन्योलमा परेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्रबहादुर कार्कीले बताए । ‘गत वर्षसम्म त दसैं—तिहारपछि संसद् अधिवेशन सञ्चालन गर्ने गरिएको थियो,’ उनले भने, ‘पुनर्निर्माण नगरी तत्काल यहाँ बैठक आह्वान गर्नसक्ने अवस्था छैन, अहिले वैकल्पिक स्थानबारे छलफल चलिरहेको छ ।’ उनले ६ महिनाभित्र संसद् अधिवेशन सुचारु गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले माघ २१ गतेभित्र जसरी पनि अधिवेशन आह्वान हुनुपर्ने बताए ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो । संसद् बैठक नहुँदा सांसदहरु फुर्सदिला बनेका छन् । ‘संसद् बैठक भए त सुर्खेतमै बसिन्थ्यो,’ प्रदेशसभा सदस्य वेदराज सिंहले भने, ‘धेरैजसो जिल्लातिरकै कार्यक्रममा व्यस्त छौं ।’
संसद् बैठक नहुँदा जनताका समस्या राख्न, सरकारलाई खबरदारी गर्न र विभिन्न मस्यौदामाथि छलफल हुन नसकेको प्रदेशसभा सदस्य कलबहादुर हमालले बताए । ‘संसद् नहुँदा व्यक्तिगत र पार्टीकै काममा व्यस्त भइयो,’ उनले भने, ‘प्रदेश राजधानीतिरको बसाइ पनि घटेको छ ।’
प्रदेशसभा सचिवालयका अनुसार आगजनी र तोडफोडका कारण झण्डै ४ करोड रुपैयाँको क्षति प्रारम्भिक अनुमान छ । मुख्यमन्त्री यामलाल कॅडेलले बजेटको अभाव नहुने भन्दै प्रदेशसभा भवन पुनर्निर्माणका लागि निर्देशन दिएका छन् । तर एकीन क्षतिको विवरण अझै नआएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । ‘कागजात पनि सबै जलेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आगामी बैठक सञ्चालन र स्थानबारे अझैसम्म छलफल नै भएको छैन ।’
आगलागीबाट क्षतिग्रस्त भएको प्रदेशसभा भवन पुनर्निर्माणका लागि कम्तीमा ६ महिना लाग्ने उनको भनाइ छ । तत्काल संसद बैठकका लागि विभिन्न मन्त्रालय वा निर्देशनालयका भवन, जिल्ला समन्वय समितिको हल र सिटी हललाई वैकल्पिक स्थानको रुपमा हेरिएको सचिव बुढाथोकीले बताए ।
