पानी पर्न रोकिएको छैन तर जुम्लाका किसान भिजेको धान आलीमा राख्दा पानी तैरिएला, पानीमा नडुब्ला कि भन्दै धमाधम धान स्याहार्नमा व्यस्त छन् ।
What you should know
जुम्ला — सोमबारदेखिको अविरल वर्षाले भिजेको धान आलीमा सुकाउन जुम्लाका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । पानी रोकिएको छैन तर किसानहरु भिजेको धान आलीमा राख्दा पानी तैरिएला, पानीमा नडुब्ला कि भन्दै धमाधम काममा जुटेका छन् । धान ढालेर भित्र्याउने तयारी थालेका किसान एक्कासि पानी परेपछि चिन्तित बनेका छन् ।
झन्डै पाँच दिनसम्म पनि वर्षा नरोकिएपछि काटेको धान खेतमै थन्किएको छ । चन्दननाथ–८ धरालबाडाका जयकृष्ण धरालाले ६ महिनाको मेहनत वर्षाले क्षणभरमै नष्ट गरिदिएको बताए । उनका अनुसार खेत पोखरी जस्तै बनेका छन् । धानका बालाहरु पौडी खेलेको जस्तै । अर्की किसान मन्नु परियारले भनिन्, ‘काटेको धान खेतमै भिजिरहेको छ । न धानको दाना काम लाग्ने देखिन्छ, न त पराल नै ।’
वर्षाले धान सखाप पारेकोले भोकमरी निम्तिने संकेत देखा परेको उनको भनाइ छ । एकातिर किसान धानखेती वर्षाले नष्ट गरेको भन्दै निराश छन् । अर्कोतिर भिजेको धान समयमै व्यवस्थापन गर्न नसकिने भन्दै चिन्तामा छन् । यो धानबाट राम्रो चामल निस्कने अवस्था छैन । यदि भएपनि कनिका धेरै हुने भएकोले खानयोग्य नहुने किसानले बताएका छन् । केही किसानले ढालेको धान पालमा छोपेर राखेका छन् । केहीले डाँठसहित घरमा पुर्याएका छन् । केही किसानले खेतमै लहरा बनाएर राखेका छन् । त्यही धान निरन्तर भिजिरहेको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार कुल ८ स्थानीय तहमध्ये ५ पालिकाका किसानले धानबाली भित्र्याइसकेका थिए । तातोपानी, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकाका केही वडाका किसानले अझै धान भित्र्याएका थिएनन् । कुल २ हजार ८ सय ९० हेक्टरमा रोपिएको २० प्रतिशत धान भिजेको कृषि कार्यालयले जनाएको छ ।
तर अझै दुई/चार दिनसम्म पानी परिरह्यो भने चामलमा कनिका धेरै हुने सम्भावना रहन्छ । यदि एक सातासम्म पनि वर्षा रोकिएन भने धानका दाना, बाला र डाँठ खेतमै कुहिएर खेर जाने र उम्रिने समस्या देखिन थाल्छ ।
कृषि विकास कार्यालयले जिल्लाको ८० प्रतिशत धान भित्र्याइसकेको जनाएको छ । जुम्लामा कालीमार्सी, उन्नत जातमा लेकाली १ र लेकाली ३, चन्दननाथ १ र चन्दननाथ ३ जातको धान रोपिँदै आएको छ ।
