गाउँ छोडेका युवा सदरमुकाम गमगढी, जुम्ला, नेपालगन्ज, काठमाडौंलगायत सहरमा जाने गरेका छन् । स्थानीय शिक्षक मनिराज बुढाले केही परिवारसहित भारतका विभिन्न सहरसम्म पनि पुग्ने गरेको बताए । ‘पुस–माघमा त हिउँले घर नै छोपिन्छन्, बाटाघाटा सबै बन्द,’ उनले भने, ‘त्यसैले गाउँ बस्न सकिने अवस्थै छैन ।’
What you should know
सुर्खेत — हुम्लाको नाम्खा गाउँपालिका-६ जाङका पेम्बा तामाङ ५ जनाको परिवारसहित कात्तिक पहिलो साता नै गाउँ छाड्ने तयारीमा थिए । तर छिमेकीहरूले एक सातापछि सँगै जाने भनेपछि रोकिए । मंगलबार हिमपात भएपछि भने उनलाई गाउँ छाड्न समस्या भएको छ ।
‘यसपालि छिट्टै हिउँ पर्यो, अहिले घरभित्रै आगो तापेर तातो खानेकुरा खाएर बसिरहेका छौँ,’ उनले टेलिफोनमा भने, ‘यो हिउँ बिलाउन २/३ दिन लाग्ला, बिलाएपछि औलतिर झर्ने हो ।’
मुगुको मुगमकार्मारोङ गाउँपालिका-१, मुगुगाउँका टासी तामाङ पनि हिउँ बिलाएलगत्तै सदरमुकाम गमगढी झर्ने तयारीमा छन् । ‘तल झर्ने बन्दोबस्तीका सामान त तयारी अवस्थामा छन्,’ उनले भने, ‘अरु हिउँ नथपिए ३/४ दिनभित्रै सबैले गाउॅ छोड्छौँ ।’ उनका अनुसार गाउँआसपासका क्षेत्रमा झन्डै आधा फिट हिउँ जमेको छ ।
मंगलबार हुम्लाको नाम्खा, खार्पुनाथ, सर्केगाड गाउँपालिका, मुगुको मुगमकार्मारोङ, डोल्पाका छार्काताङसोङ, डोल्पोबुद्ध, शेफोक्सुण्डोलगायत गाउँपालिकामा यो वर्षको पहिलो हिमपात भयो । तर केहीले हिमपातअघि नै गाउँ छोडिसकेको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘धेरै त गाउँमै छन्,’ उनले भने, ‘यसपालि छिट्टै हिउँ परेपछि एक घरबाट अर्को घर जानै समस्या भएको छ, सबैजना घरभित्रै आगो तापेर बसिरहेका छन्, पशुचौपाया पनि गोठमै थुनिएका छन् ।’ हल्जी, तिल र जाङ गरी तीन गाउॅ रहेको लिमीमा १ सय ४७ परिवार छन् । त्यसमध्ये झन्डै ५० परिवारले मात्र गाउँ छोडेको उनले जानकारी दिए ।
बिहीबार सीता एयरलाइन्सको पहिलो उडानबाट लिमीका केही स्थानीय नेपालगन्ज गएका छन् । एयरलाइन्सले बिहीबार तीन उडान गरेकोमा यात्रुको चाप अत्यधिक भएपछि गोलाप्रथा गराएर टिकट वितरण गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए । ‘नेपालगन्जमा अहिले साना जहाज नै छैनन्,’ उनले भने, ‘चिसो छल्न तराई झर्नेहरूको चापले टिकट पाउनै मुस्किल छ ।’
मंगलबार भएको हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म आउजाउ नै रोकिएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार मुगुगाउँ, डोल्फु, किम्री, माग्रीलगायत गाउँमा आधा फिटसम्म हिउँ जमेको छ । ‘पोहरसम्म कात्तिक तेस्रो सातादेखि मंसिर पहिलो सातासम्म पूरै पालिकाका सबै गाउँहरू खाली हुन्थे, यसपालि पनि चिसो छल्न सबैजना बेंसी झर्ने तयारीमा थिए,’ उनले भने, ‘तर छिटो हिउँ परेपछि अधिकांश गाउँमै छन्, हिमपातका कारण सबै बस्ती सुनसान छन्, कोही पनि बाहिर निस्किन सकेका छैनन् ।’ उनका अनुसार २०६८ सालमा कात्तिक पहिलो साता हिमपात सुरु भएको थियो ।
अत्यधिक चिसोले गाउँमा बस्न नसकिने अवस्था आएपछि उच्च हिमाली बस्तीका बासिन्दाले झन्डै ६ महिना गाउँ छोड्छन् । चिसोले हिउँद कटाउनै सास्ती हुने भएपछि हिमपातअघि नै गाउँ छोड्नुपर्ने बाध्यता रहेको मुगुगाउँका दार्जी लामाले बताए । एक साताअघि गाउँ छोडेका उनको ७ जनाको परिवार अहिले सदरमुकाम छ । ‘अब त चैत नलागी गाउँ उक्लिँदैनौँ,’ उनले भने, ‘गाउँमा दुई/चारजना राखेर अरु पनि गाउँ छोड्ने तयारीमा छन् ।’ केही स्थानीय सिरानीचौर, पिपलाडी कुना, चितै ओढार, ढुंगेधारालगायत बस्तीमा झरिसकेको उनले बताए ।
गाउँ छोडेका युवा सदरमुकाम गमगढी, जुम्ला, नेपालगन्ज, काठमाडौंलगायत सहरमा जाने गरेका छन् । स्थानीय शिक्षक मनिराज बुढाले केही परिवारसहित भारतका विभिन्न सहरसम्म पनि पुग्ने गरेको बताए । ‘पुस–माघमा त हिउँले घर नै छोपिन्छन्, बाटाघाटा सबै बन्द,’ उनले भने, ‘त्यसैले गाउँ बस्न सकिने अवस्थै छैन ।’
