लगातारको हिमपातपछि उपल्लो डोल्पा चार दिनदेखि फोन सेवा अवरुद्ध

चार दिनदेखिको लगातार हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको हो ।

कार्तिक १४, २०८२

रामचन्द्र न्यौपाने

Phone service disrupted in Upper Dolpa for four days after continuous snowfall

What you should know

डोल्पा — डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको हो ।

भौगोलिक रुपमा विकट माथिल्लो डोल्पामा वर्षौं पुराना नेपाल टेलिकमका टेलिफोन टावरले राम्रोसँग सेवा नदिएको शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयले गुनासो पोखे ।

‘शे–फोक्सुण्डोमामात्रै नेपाल टेलिकमका आधा दर्जन टावर छन् । उक्त टावरले घाम लागेको बेला त राम्रोसँग काम गर्दैनन् भने हिमपातको समयमा फिटिक्कै काम गर्दैनन्,’ उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ्गले भने ।

पर्यटक मात्र पुग्ने देशका धेरै ठाउँमा फोरजी टावर राखिएको छ तर वर्षौंदेखि सर्वसाधारणहरु बस्दै आएका गाउँबस्तीमा राम्रोसँग फोन पनि लाग्दैन् । ‘यो बराबर दुखद् कुरा के हुन सक्छ र ? ’ उनले सरकारलाई प्रश्न गरे ।

उक्त पालिकामा फोक्सुण्डो ताल रहेको छ । देशका प्रायः पर्यटकीय क्षेत्रमा फाइभजी सेवासम्म जोडिएको छ तर उपल्लो डोल्पामा भने एकछिन बादल लाग्दा पनि फोन सेवा हप्तौँ हराउने उनले बताए ।

उपल्लो डोल्पा क्षेत्रमा उच्च सोलार ब्याकअप भएको फोरजी सेवा सरकारले जडान गरिदियो भने यहाँका स्थानीयलाई धेरै नै राहत हुने उनले बताए । गाउँपालिका क्षेत्रमा राम्रोसँग फोन सुविधा नहुँदा स्थानीय त समस्यामा छन् नै त्यसको असर पर्यटकहरुमासमेत परेको उनको भनाइ छ ।

त्यसैगरी उपल्लो डोल्पामै पर्ने डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिका पनि फोन सम्पर्कबाट अलग भएका छन् । डोल्पोबुद्ध गाउँपालिकामा चार दिनदेखि नमस्तेको फोन सेवा नभएको स्थानीय युवा पेम्मा छेवाङ् गुरुङले बताए ।

‘हिमपातले बाटाघाटा बन्द छन्, एक गाउँबाट अर्को गाउँमा गएका स्थानीय नै गन्तव्यमा पुग्न पाएका छैनन्, त्यसैगरी फोन सुविधा नहुँदा पर्यटकहरुसमेत समस्यामा परेका छन्,’ उनले भने ।

कम्तीमा फोरजी इन्टरनेटसहितको फोन सेवा भइदिएको भए मौसमबारे मोबाइलमा जानकारी लिएर पर्यटकहरु यात्रामा निस्कन सक्ने उनले बताए ।

उपल्लो डोल्पा क्षेत्रमा फोनसेवा अवरुद्ध हुँदा पर्यटक र स्थानीयले दुख पाइरहेको उनको भनाइ छ ।

उपल्लो डोल्पा क्षेत्रमा हालसम्म तीन फिट धेरै हिँउ जमको बताइएको छ । बाग्लो हिँउ जमेपछि जनजीवन कष्टकर हुनुका साथै पशुवस्तु चरिचरणमा समेत समस्या उत्पन्न भएको ताक्सि गाउँका स्थानीयले गुनासो गरे । 

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully