बेमौसमी वर्षातले भिजेको धान सुख्खा स्थानमा सुकाउन अहिले किसानलाई हम्मे हम्मे परेको छ भने घाम लाग्ने संकेत देखिएपछि केहीले त्यत्तिकै छाडेका छन्।
What you should know
सल्यान — वर्षातका कारण भित्र्याउन काटेर सुखाएको धान खेतमै डुबेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । सोमबार रातिदेखि मंगलबार रातीसम्म २४ घण्टा लगातार वर्षात भएको र अझै केही दिन वर्षा हुने मौसमविद् जानकारी गराएपछि काटेर सुकाएको धान कुहिएर तथा खेतमै उम्रेर खेर जाने चिन्तामा किसान छन् ।
जिल्लामा प्रत्येक वर्ष झण्डै ७ हजार हेक्टर खेतमा धानखेती हुने गरेको छ । किसानले खेतमा पाकेको धान ५० प्रतिशतभन्दा बढी भित्र्याइसकेका छन् । अहिले पनि शारदा नदीको किनार आसपास र शारदा, बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका, त्रिवेणी, कालिमाटी, सिद्धकुमाख, कुमाख, दार्मा गाउँपालिकाको खहरेखोलाको आसपासमा रहेका खेतमा पाकेका धान किसानले भित्र्याउन भनी काटेर सुकाएको अवस्थामा भिजेका हुन् ।
बेमौसमी वर्षातले भिजेको धान सुख्खा स्थानमा सुकाउन अहिले किसानलाई हम्मे हम्मे परेको छ भने घाम लाग्ने संकेत देखिएपछि केहीले त्यत्तिकै छाडेका छन् ।
पाकेको धान तिहारअघि नै काटेर भित्र्याउनु पर्ने भए पनि दसैं तिहार मनाएर फुर्सदिलो भएको बेला भित्र्याउँला भनेर ढिला गर्दा कालिमाटी गाउँपालिकाका अधिकांश किसानले काटेर सुकाएको धान वर्षातका कारण खेतमै भिजेको किसान दिपक भण्डारीले बताए ।
कालिमाटीको टोटके, चापी, चंखेली, स्याँकु जिउला, सिमलचोक, ढोरनी, लगायतका क्षेत्रमा किसानले काटेर खेतमा सुकाएको धान भिजेको मात्र नभई कतिपय स्थानमा खेतमै डुबेको उनले जानकारी गराए । ‘बुधबार वर्षा नभए पनि बादल टन्न लागेको छ । अहिले भिजेको धान पानी नभएको ओबानो ठाँउमा लगेर किसानले सुकाउन थालेका छन् तर किसानलाई भिजेको धान प्रयोग गर्न भन्दा आउने वर्षमा बीउको लागि उपयुक्त हुन्छ कि हुँदैन भन्ने चिन्ताले सताएको छ’ उनले भने ।
त्रिवेणी गाउँपालिका–५ का किसान कृष्ण बुढाथोकीले लुहामखोला वरपर किसानले काटेर सुकाएको धेरै धान पानीले भिजेको बताए । राम्रोसँग सुकाएर भित्र्याउने सोचमा पर्दा धान पानीले भिजेको उनले जानकारी गराए । ‘केही वर्ष अघि दसैंपछि लगातार केही वर्षा हुँदा पाकेको धान पानीका कारण नष्ट भएको थियो यसपाली पनि त्यस्तै हुने डर लाग्न थालेको छ,’ उनले भने, ‘मानो छरेर मुरि उत्पादन हुने भएकाले उत्पादित धानले अधिकांश किसानलाई छ महिना सजिलै खान पुग्थ्यो अझ केही दिन वर्षा हुने मौसम विज्ञले जानकारी गराएपछि उम्रेर र कुहिएर सबै सकिने हुन कि भन्ने लाग्न थालेको छ ।’
काटेको धान पानीबाट बचाउन सुरक्षित स्थानमा राख्ने ठाउँ नभएकाले झनै समस्या भएको उनको भनाइ छ । यता शारदा नगरपालिका ९ का किसान भिमबहादुर नेपालीले काटेर सुकाएको धान पानीले २४ घण्टासम्म भिजेपछि अहिले सुकाउन धौ–धौ भएको बताए । काटेर सुकाएको धान पानीले भिजेपछि धेरै जसो झरेको उनले जानकारी गराए ।
उनले भने, ‘हिजोआज सबैले मेसिन लगाएर धान झाट्ने गर्छन् । हामी पनि मेसिनकै भर परेर बसेका थियौं । त्यही भएर धान खेतमै सुकाएका थियौं । मेसिन ल्याउन नपाउदै वर्षा भएपछि समयमै भित्र्याउनै पाएनौं ।’
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जिल्लाका धेरै किसानले पाकेको धानबाली भित्र्याइसकेका र वर्षभरीमा सिँचाइ नलाग्ने खहरेखोला आसपासका खेतमा ढिलो पाकेका धान पानीले भिजे पनि खासै क्षति भने नहुने बताए । जिल्लाका सबै किसानले स्थानीय जातका भन्दा हाईब्रिड धान लगाउँदै आएकाले एक दिनको पानीले भिज्दैमा केही असर नपर्ने उनको भनाइ छ ।
