बुधबार सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटमा मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिएका हुन् ।
वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २४ को प्रदर्शनका क्रममा गरिएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन्।
बुधबार सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटमा उनले आन्दोलनका नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिएका हुन् ।
अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ,' उनले भने, 'अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ।अपराधजन्य कार्यमा संलग्न जोकोही भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्छ ।' जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गरेमात्रै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने उनले बताए ।
जाँचबुझ आयोगका सदस्य भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिका रूपमा आयोगले अध्ययन गर्ने बताए। व्यक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको उनले उल्लेख गरे । त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाण सङ्कलन गरिएको जानकारी दिए। घटनामा संलग्न व्यक्तिहरूको पहिचान कार्यमा प्रहरी अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
