जहाँ देउताले दिन नदिएसम्म धान भित्र्याइँदैन

असोज २२ गते लागेको राहदेव मन्दिरको मेला पछि बेलुकी सबै देविदेवता राखेर धान भित्र्याउने दिन मागेका थिए ।

कार्तिक ११, २०८२

डीबी बुढा

Where rice is not brought in unless the gods grant it.

What you should know

जुम्ला — जुम्लाको हिमा गाउँपालिका–१ मोफ्ला गाउँमा यही कात्तिक नौ गतेदेखि मात्रै मार्सीधान भित्र्याउन सुरु भएको छ । धान पाकेर पहिल्यै तयार भए पनि देउताले दिन नदिएका कारण धान भित्र्याउने काम रोकिएको थियो ।

देउताले कात्तिक नौ गतेदेखि धान भित्र्याउनु भनेर तोकेपछि मात्र धान काट्न सुरु भएको किसानहरुले बताएका छन् । स्थानीय गोपाल रोकायाले देउताले कात्तिक ९ गतेदेखि धान काट्दा फरक नपर्ने गरि दिन दिएपछि किसानहरु धान भित्र्याउन जिउलातिर केन्द्रित भएकाको बताए । 

असोज २२ गते लागेको राहदेव मन्दिरको मेला पछि बेलुकी सबै देविदेवता राखेर धान भित्र्याउने दिन मागेका थिए । उनले भने, ‘यो जिल्ला भरीको अचम्मको चलन हो । जहाँ देवताले दिन नदिएसम्म धान काट्न सुरु गर्न हुँदैन ।’ उसो त खेतको आलीमा उम्रिएको घाँस काट्न पनि देउतासँग दिन माग्ने चलन छ ।

‘गाउँमा सबै एकैनाशका मान्छेहरुको बसोबास हुँदैन, सबैको अनुकुल पर्ने गरेर दिन दिने गरिएको छ,’ रोकायाले भने, ‘अहिलेसम्म यो चलन कायमै छ । जसले किसानलाई राहत नै मिलेको छ ।’

धेरै जनशक्ति हुनेले अगाडि नै धान भित्र्याएर पशुवस्तु छाडिदिने भएकाले समस्या हुने उनको भनाइ छ । उनले अघि भने, ‘सबैले एकैदिन धान काट्न सुरु गरोस र एकै दिनमा भित्र्याइसकोस भन्ने हेतुले देउताले दिन दिन्छन् ।’ 

धान भित्र्याउन मात्र नभइ जिउलोका घाँस काट्न पनि देउतासँग दिन माग्ने गरेको स्थानीयले बताएका छन् । यो थितीले पहुँच भएका र नभएका छुट्याउन कठिन हुन्छ । कसैले अघि धान भित्र्याउँदा त कसैले पछि भित्र्याउँदा गाउँमा राम्रो सन्देश जाँदैन । मोफ्ला गाउँमा ३ सय भन्दा धेरै घरधुरी छन् । मोफ्लाका पृथी रावतले अहिले धान भित्र्याउन भ्याइनभ्याइ भइरहेको बताए । उनले भने, ‘गाउँमा मनलाग्दी थिति नबसोस भनेर देउतासँग दिन माग्ने चलन रहेको छ ।’

गाउँको चौशिला, बढाखेत, ढाण, घोटी, स्याल, दुनी, आर, लाडे, ठिन्के लगायतका दर्जन बढी जिउलाको झण्डै २५० हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ । यहाँको उब्जनीले झण्डै ६ महिना धान्ने गरेको किसानले बताएका छन् । उक्त गाउँमा रोप्ने र गोड्ने दिन पनि देउताले नै दिन्छन् । 

देउताले दिने दिन भन्दा एक दिन अघि र एक दिन पछि मात्रै धान काट्न सुरु गरेमा मन्दिरमा बलि दिनुपर्ने चलन छ ।

राहदेव मन्दिरको मेला ढिलो भएमा अगाडि नै सबै गाउँका धामी झाँक्री बोलाएर दिन माग्ने चलन छ । रोप्नको लागि वैशाख पूर्णिमाको दिनमा दिन माग्ने गरिन्छ । ‘धान पाके पनि नपाके पनि देउताले दिएकै दिनमा काट्न सुरु गर्नुपर्छ,’ रोकायाले भने, ‘नत्र गाउँमा अनिष्ट फैलने विश्वास छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully