भित्र्याउने बेलाको धानबाली भिज्दा किसान चिन्तित

जिल्लाको चन्दननाथ, हिमा र तातोपानीका किसानले धान भित्र्याउन सुरु गरेका थिए ।

कार्तिक ११, २०८२

डीबी बुढा

Farmers worried as paddy crop gets wet during harvest

What you should know

जुम्ला — सोमबार रातिदेखि परेको पानीका कारण घर भित्र्याउन लागेको धानबाली भिज्दा जुम्लाका किसान चिन्तित छन् । किसानले धान ढालेर खेतमै सुकाएको अवस्थामा वर्षाले भिजाएको हो ।

जिल्लाको चन्दननाथ, हिमा र तातोपानीका किसानले धान भित्र्याउन सुरु गरेका थिए ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार कुल ८ स्थानीय तहमध्ये ५ पालिकाका किसानले धानबाली भित्र्याइसकेका थिए । कनकासुन्दरी, सिंजा, तिला, गुठिचौर र पातारासीका किसानले धान भित्र्याइसकेका कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । तर तातोपानी, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकाका केही वडाका किसानले अझै धान भित्र्याएका थिएनन् । कुल २ हजार ८ सय ९० हेक्टरमा रोपिएको २० प्रतिशत धान भिजेको कृषि कार्यालयले जनाएको छ ।

चन्दननाथ नगरपालिकाको गैरागाउँ, पिपलगाउँ र जातिभिडका किसानले धान भित्र्याउन बाँकी छ । यहाँका किसानले भित्र्याउन धान काटिसकेका छन् । चुट्न र घर ल्याउनुपर्ने छ ।

तातोपानी गाउँपालिकाको राँका, बाइराँका, लाछु जिउला र डाँगीबाडा जिउलामा धान भित्र्याउन सकेका छैनन् । हिमा गाउँपालिकाको दयारगाउँ र मोफ्लाका किसानले धान ढालिसकेका छन् । तलिकुडु र माथि कुडुगाउँका किसानले धान ढालेका छैनन् ।

घर भित्र्याउने भनेर खेतमै ढालिएको धानबाली भिजेकोले किसान चिन्तित बनेका छन् । 'धान भिज्दैमा क्षति भयो भन्न मिल्दैन्,' प्रमुख अधिकारीले भने, ‘वर्षा रोकिएर घाम लाग्यो भने खासै असर पर्दैन । तर दुई/चार दिनसम्म पानी परिरहृयो भने चामलमा कनिका धेरै हुने संभावना रहन्छन् । यदि एक सातासम्म पनि वर्षा रोकिएन भने धानका दाना, बाला र डाँठ खेतमै कुहिएर खेर जाने र उम्रिने समस्या देखिन थाल्छ ।’

कृषि कार्यालयले बिहानैदेखि हरेक स्थानीय तहका कृषि शाखामा समन्वय गरेर धानबालीको अवस्था बुझेको थियो । केही किसानले ढालेको धान पालमा छोपेर राखेका छन् ।'केहीले डाँठसहित घरमा पुर्‍याएका छन,' प्रमुख अधिकारीले भने, ‘केही किसानले खेतमै लहरा बनाएर राखेका छन् । त्यही धान निरन्तर भिजिरहेको छ ।’

कृषि विकास कार्यालयले जिल्लाको ८० प्रतिशत धान भित्र्याइसकेको जनाएको छ । जुम्लामा कालीमार्सी, उन्नत जातमा लेकाली १ र लेकाली ३, चन्दननाथ १ र चन्दननाथ ३ जातको धान रोपिँदै आएको छ ।

वर्षा भइरहे खेतमा धान ढलेर काम नलाग्ने हुन सक्ने भन्दै किसान चिन्तित बनेका छन् । स्थानीय जयबहादुर रोकायाले यो पटक धान राम्रो फलिरहेको भए पनि वर्षाले घर भित्र्याउन समस्या भइरहेको बताए ।

सोमबार रातिदेखि परेको वर्षाले भिजेको जुम्लाको धानबाली । तस्बिर : कान्तिपुर

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully