यहाँका आधा दर्जन वस्तीहरुमा फोन लाग्दैन । यो बीचमा पर्ने कागनी, सााङ्टा, छेप्का, रोची, सुम्दुवा, साइजल लगायका वस्तीहरु वर्षौंदेखि सञ्चार सम्पर्कविहीन छन् ।
What you should know
डोल्पा — ‘फोक्सुण्डो ट्रेल’मा पर्ने सुलिगार्डदेखि साइजलसम्म टेलिफोन सेवा नहुँदा स्थानीयका साथै यहाँ आउने पर्यटकलाईसमेत समस्या भएको छ ।
ठूलीभेरी नगरपालिका र शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगार्डदेखि साइजलसम्म हालसम्म पनि कुनै पनि दूर सञ्चार कम्पनीको टेलिफोन सेवा उपलब्ध छैन ।
इन्टरनेट सेवाबाहेक सामान्य फोन सेवासमेत उपल्लब्ध नहुँदा जिल्लामात्र नभइ कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यभित्र पर्ने फोक्सुण्डो ताल हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।
शे–फोक्सुण्डो निकुञ्ज कार्यालय रहेको सुलिगार्डदेखि फोक्सुण्डोसम्म ‘फोक्सुण्डो ट्रेल’को रुपमा चिनिन्छ । यसबीचमा अहिलेसम्म कुनै पनि टेलिफोन र इन्टरनेट सुविधा छैन ।
हरेक वर्ष ताल हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तर इन्टरनेट र टेलिफोन सुविधा नहुँदा पर्यटकहरुलाई यसबीचको बाटोमा आउने समस्याहरु समाधानका लागि विकल्प नभएको पर्यटकको गुनासो छ ।
‘सुलिगार्डबाट भित्र फोक्सुण्डोतर्फ लागेदेखि नै फोन लाग्दैन,पर्यटकहरु करिब दश घण्टा फोन सम्पर्कविहीन हुनुपर्छ,’ सुर्खेतबाट फोक्सुण्डो घुम्न आएका आन्तरिक पर्यटक विनोद बुढाले भने ।
‘यसबीचमा न त परिवारसँगै कुरा गर्न पाइन्छ, न जरुरी फोन गर्न सकिन्छ, बीचमा कुनै अप्रिय घटना भइहाल्यो भने उद्धारको सम्भावना नै देखिँदैन,’ उनले थपे ।
उनले फोक्सुण्डोसम्मको पदमार्ग सुधार गर्नुपर्ने, अप्ठ्यारो ठाउँमा बाटो चौडा गर्नुपर्ने र पर्यटकहरुका लागि सुविधायुक्त होटहरुको व्यवस्था गर्नुपर्ने बताए ।
अहिले फोक्सुण्डो घुम्ने ट्रेन्डनै चलेकाले पर्यटकहरुको ओइरो लागेको उनको भनाइ छ ।
आधा दर्जन बस्ती सम्पर्कविहीन
‘फोक्सुण्डो ट्रेलमा’ फोन सुविधा नहुँदा यसको मारमा बीचमा पर्ने बस्तीका स्थानीयहरुसमेत परेका छन् ।
यहाँका आधा दर्जन वस्तीहरुमा फोन लाग्दैन । यो बीचमा पर्ने कागनी, सााङ्टा, छेप्का, रोची, सुम्दुवा, साइजल लगायका वस्तीहरु वर्षौंदेखि सञ्चार सम्पर्कविहीन छन् ।
छेप्काका स्थानीय होटल व्यवसायी निमा ग्याल्जेन लामाले अन्यत्र उच्च गतिको इन्टरनेट सुविधा उपभोग भइरहँदा जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रमा फोन सुविधासमेत नहुनु दुर्भाग्य रहेको बताए ।
‘नेपालकै अधिकांश जिल्लामा उच्चस्तरको इन्टरनेट सुविधा पुगिसक्यो । तर तर ‘फोक्सुण्डो ट्रेल‘मा पर्ने छेप्का लगायतका वस्तीमा अझै फोन लाग्दैन, कसैगरी कोही मान्छे बिरामी पर्यो वा कुनै घटना भयो भने समयमा उद्धार गर्नसमेत सकिँदैन,’ लामाले भने । परिला गाउँको लेकमा बनेको टावर पनि अहिलेसम्म सञ्चालनमा नआएको भन्दै उनले सरकारसँग कारण सोधेका छन् ।
फोन सुविधा नहुँदा निकुञ्जको नियमित कामकारबाही सञ्चालनमासमेत समस्या हुने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । ‘निकुञ्ज कार्यालयमै फोन लाग्दैन,फोन सुविधा विस्तारका लागि धेरै पटक नेपाल टेलिकममा पत्र लेखिसक्यौं, तर पनि सुनुवाइ भएको छैन’ वार्डेन अर्यालले दुखेसो पोखे ।
