उच्च ज्वरो र स्क्रब टाइफसबाट सल्यानका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
What you should know
सल्यान — ज्वरो र स्क्रब टाइफसका बिरामी बढ्दै गएको सल्यानमा उच्च ज्वरोका कारण थप एक पुरुषको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका-५ ढाँकाडाम घर भएका वर्ष ४० का टेकम चन्दको मृत्यु भएको हो ।
उच्च ज्वरो र स्क्रब टाइफसबाट सल्यानका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । केही दिनअघि मात्र ज्वरो आएको र औषधि सेवन गर्दा पनि ठिक नभएपछि आफन्तले उपचारका लागि नेपालगन्ज लगेका र अस्पतालमा चन्दको मृत्यु भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । चन्दलाई उच्च ज्वरोका साथै स्क्रब टाइफस, डेंगीको जस्तै लक्षण देखिएको आफन्तबाट बुझिएको उनले जानकारी गराए ।
उनका अनुसार मृत्यु भएका चन्दको बारेमा अस्पतालका डाक्टरसँग बुझ्दा रिपोर्ट नआए पनि चन्दको मुटु र छातीमा समस्या देखिएको थियो । योभन्दा अघि असोज अन्तिम सातामा दार्मा गाउँपालिका-३ दुवाङ्गकी वर्ष ४७ की महिला यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको थियो ।
दार्मामा पछिल्लो समयमा ज्वरो, स्क्रब टाइफसका बिरामी बढिरहेकाले उच्च ज्वरो आएकाको रगत परीक्षणको तयारी भइरहेको र बढी समस्या देखिएकालाई रिफर गरेर जिल्ला अस्पताल पठाउँदै आएको बस्नेतको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले स्क्रब टाइफसबाट असोजमा एक पुरुष र ज्वरोले तीनको मृत्यु भइसकेको बताए । ज्वरो आएको भन्दै मेडिकलबाट औषधि किनेर सेवन गर्दै आएका र रोग पहिचानमा समस्या देखिएपछि सर्वसाधारणको ज्यान जोखिममा पर्दै आएको उनको भनाइ छ । स्क्रब टाइफसको जोखिम बढ्दै गएपछि अहिले प्रभावित क्षेत्रमा गएर बिरामीको रगत परीक्षण भइरहेको उनले बताए ।
