रुकुम पश्चिम जिप दुर्घटना : क्षमताभन्दा दोब्बर यात्रु चढाइएको थियो

त्रिवेणी गाउँपालिकाको सिम्रुतुबाट पाँच वटा प्रहरी पोस्टमा यात्रु ओराल्दै छलेर गएको उक्त जिप साँझ ५ बजेतिर दुर्घटनामा परेको थियो ।

कार्तिक ८, २०८२

महेश केसी

Rukum West jeep accident: Passengers were loaded twice as much as the capacity

What you should know

रुकुम पश्चिम — क्षमताभन्दा दोब्बर यात्रु बोकेको जिप शुक्रबार साँझ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्ने भीरबाट खस्दा आठ जनाको मृत्यु भएको छ । चालकसहित १० जना घाइते छन् ।

त्रिवेणी गाउँपालिकाको सिम्रुतुबाट पाँच वटा पोस्टमा यात्रु ओराल्दै प्रहरीलाई छलेर गएको उक्त जिप साँझ ५ बजेतिर दुर्घटनामा परेको हो ।  

आठबीसकोटको स्यालाखदी र गोतामकोटलाई जिल्ला सदरमुकामसँग जोड्ने निर्माणाधीन सडकमा रा १ ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको हो । नौ जना यात्रु क्षमता भएको उक्त जिपमा दोब्बर (१८ जना) यात्रु सवार रहेको प्रहरीले जनाएको छ । क्रिस्चियन समुदायले त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा आयोजना गरेको ‘जवान संगती’मा सहभागी भएर घरतर्फ फर्कन लागेका सर्वसाधारण साँझ ५ बजेतिर दुर्घटनामा परेका हुन् ।

स्यालाखदीतर्फ यात्रु र सामान बोक्ने उक्त जिप संगतीमा आएकाहरुले ‘रिजर्भ’ गरेका थिए । दुर्घटनामा घाइते भएका नवीन एरीका अनुसार चार वटा प्रहरी पोस्टमा इन्ट्री गराउँदा चालकले केही यात्रु ओरालेर हिँड्न लगाएको बताए । चालकले गाडीको कुनै पार्ट भाँचिएको कुरा गरे लगत्तै जिप अनियन्त्रित भएर खसेको उनले बताए । ‘चारवटा प्रहरी पोस्टमा केही यात्रु ओरालेर पार गराएको थाहा छ । केही पर गएपछि ड्राइभरले कुनै पार्ट भाँचिएको कुरा गर्ने बित्तिकै गाडी खसिहाल्यो । पछाडि बसेका हामीहरु हाम फालेर बाँच्यौं,’ उनले भने ।

दुर्घटनामा परी आठबीसकोट नगरपालिका–१ का टेकजंग बुढा, कल्पना नेपाल र दिलमाया बुढा, वडा २ का मनिका ओली, शर्मिला विक, गोपाल ओली र सविता विक तथा वडा ३ का कमला ओलीको मृत्यु भएको छ । जिप चालकसहित अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको जिल्ला अस्पताल र ३ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।

Rukum West jeep accident: Passengers were loaded twice as much as the capacity

सिम्रतुबाट दुर्घटनास्थलको बीचमा सिम्रुतु, सोलाबाङ, छिनखेत, मग्मा र नदुवामा गरेर पाँच स्थानमा प्रहरीको चेकपोस्ट छन् । ती सबै पोस्ट पार गर्दै गएको जिप अगाडि दुर्घटनामा परेको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले सबै पोस्टमा चेकिङ भएको र जिपमा १२ जनामात्रै सवार रहेको बताए । ‘चेकिङ सबै ठाउँमा भएको छ । त्यस बखत जिपमा १२ जना चढेको देखिएको छ । अरु ६ जना कहाँबाट चढे भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ उनले भने । प्रहरीको आँखा छलेर यात्रुहरु बोक्ने काम व्यवसायीले गर्दै आएको भन्दै डिएसपी विष्टले यसमा यात्रु स्वयंको पनि लापरबाही रहने गरेको बताए । ‘सकेको त हामीले गरिरहेकै हुन्छौं । तर व्यावसायिक लाभका कारण गाडीवाला र गन्तव्यमा पुग्नैपर्ने यात्रीको चाहनाका कारण प्रहरीको आँखा छलेर चढेको हुनसक्छ,’ उनले भने । 

जिल्ला सदरमुकामबाट स्यालाखदीतर्फ जाने एक/दुई जिप एउटा मात्रै भएकोले यात्रु जबरजस्ती चढ्ने र यातायात व्यवसायीले पनि पैसाको लोभमा बढी भार बोक्ने गरेका छन् । स्यालाखदीका शेरबहादुर यरीले कोचाकोच गरेर चढ्नुपर्ने आफुहरुको बाध्यता भएको बताए । ‘हाम्रो गाउँसम्म मुस्किलले सडक पुगको छ । दिनमा एउटा जिप जान्छ । अनि मान्छेलाई घरसम्म पुग्नैपर्ने भएकाले चढिन्छ । गल्ती हाम्रो पनि छ । तर सडक राम्रो बनाइदिने र यातायातका साधन बढाउने काम सरकारको हो,’ उनले भने । 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully