ठूला मेसिन प्रयोग गरी नदीभित्रैबाट गिटी बालुवा निकाल्न थालेपछि माछाको वासस्थानसमेत नासिँदै गएको स्थानीयको चिन्ता छ ।
What you should know
जुम्ला — अवैध गिट्टी बालुवाको उत्खननले पातारासी गाउँपालिका हुँदै बग्ने जवानदीमा जोखिम बढेको छ । पहिले एउटै आकार लिएर बग्ने यो नदी अहिले चिराचिरा परेर बगिरहेको छ ।
नियामक निकाय तथा स्थानीय सरकारको ध्यान नपुग्दा जोखिम बढिरहेको पातारासी गाउँपालिका–५ का मानबहादुर बोहोराले बताए । उनले भने, ‘नदीको बहाव घट्ने बित्तिकै नदी नभई खहरे खोलाजस्तै देखिन्छ । पानीको बहाव बढ्ने बित्तिकै बाढी आएझैं हिलो बग्न थाल्छ ।’
पातारासी ५ को लाम्री गाउँदेखि लोर्पासम्मको झण्डै डेढ किलोमिटर दूरीमा पहिले हरियाली थियो । नदीको वारीपारी घाँसे मैदान जस्तै थियो । जहाँ पशुवस्तुहरु चर्थे । ‘तर अहिले नदी हो कि खोला हो भन्नै मुस्किल छ’, उनले भने, ‘विकासे आयोजनाका लागि धमाधम गिट्टी बालुवा निकाल्दा नदीको स्वरुप नै परिवर्तन भएको छ ।’
नियामक निकायको निगरानी बिना नै ठेकेदार, व्यक्ति आफैं मनोमानी तरिकाले नदीबाट गिटी बालुवा निकाल्दा नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममासमेत परेका छन् ।
स्थानीय विष्णुबहादुर बुढाले भने, ‘अवैध उत्खननले एकातिर प्राकृतिक सुन्दरता हराउँदै गएको छ भने अर्कोतिर बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक विपत्तिका जोखिम समेत बढेका छन् ।’ यता आम्दानीको मुख्य स्रोत मानिने प्राकृतिक सम्पत्तिको दोहन बढेपछि स्थानीय सरकारले करोडौंको आन्तरिक राजस्वसमेत गुमाउनु परेको छ ।
वातावरण प्रभाव मूल्यांकन नगरी जथाभावी बालुवा, गिट्टी निकाल्न मिल्दैन । अनुमतिबिना नदीको धार र स्वरुपनै परिवर्तन हुनेगरी डोजरको प्रयोगले वर्षौंदेखि नदीजन्य पदार्थको उत्खनन भइरहेको छ ।
जसकारण नदी तटीय क्षेत्रमा असर त परेको छ नै, जलचरहरुको जीवन पनि संकटमा परेको छ । केही वर्षअघिसम्म केही स्थानीयले माछा मारेर जिविका चलाउँथे । तर अहिले नदीमा माछा पाउनै छाडेका छन् ।
