६ महिनाअघि लाइन विस्तार, अहिलेसम्म बत्ती बाल्न पाएनन्

प्राधिकरणले समयमै ट्रान्सफर्मर उपलब्ध गराउन नसक्दा तार तानेको ६ महिना बितिसक्दा पनि बिजुली बाल्न नपाएका हुन् ।

कार्तिक ४, २०८२

विप्लव महर्जन

Line extended 6 months ago, still can't turn on lights

What you should know

सल्यान — जिल्ला पूर्ण विद्युतीकरण कार्यक्रम अन्तर्गत दार्मा गाउँपालिका–१ देखि ६ सम्मका बस्तीमा पोल गाडेर तार तानेको ६ महिना बढी भइसक्यो । गएको दसैंमा बत्ती बाल्न पाउने भन्दै सबै वडाबासीले घरघरमा वाइरिङ गरे ।

निर्माण कम्पनी र विद्युत प्राधिकरणले समयमै ट्रान्सफर्मर जडान गर्न नसक्दा स्थानीयको बत्ती बाल्न पाउने सपना अहिलेसम्म पूरा हुन सकेको छैन ।  

यस्तै कुमाख गाउँपालिका ६ वडाका टाटके, जिमाली, वडागाउँ, स्विकोटलगायतका बस्तीमा पूर्ण विद्युतीकरण कार्यक्रम अन्तर्गत निर्माण कम्पनीले पोल गाडेर तार तानेको पनि धेरै भइसक्यो । जिल्ला पूर्ण विद्युतीकरण कार्यक्रम अन्तर्गत शारदा, बाग्चौर नगरपालिका, त्रिबेणी, कुमाख, कपुरकोट, छत्रेस्वरी, सिद्धकुमाख र दार्मा गाउँपालिका गरी आठ स्थानीय तहका बिभिन्न बस्तीमा ६ महिनाअघि फोल गाडेर तार तान्ने काम माँ शक्ति त्रिस्टल जेभी दोलखाले सम्पन्न गरिसके पनि अहिलेसम्म स्थानीयले बत्ती बाल्न पाएका छैनन् । प्राधिकरणले समयमै ट्रान्सफर्मर उपलब्ध गराउन नसक्दा तार तानेको ६ महिना बितिसक्दा पनि बिजुली बाल्न नपाएका हुन् । 

१८ महिनामा काम सम्पन्न गर्ने भन्दै २०८० देखि सरकारले निर्माण सामग्री खरिदबाहेक पोल गाड्न, तार तान्न ८ करोड रुपैयाँ रकम विनियोजन गरेको थियो । पूर्ण विद्युतीकरणको ठेक्का माँ शक्ति त्रिस्टल जेभीले पाएको थियो । ठेक्का अबधि सकिएपछि प्राधिकरणले पुनः ६ महिनाको लागि म्याद थप गरेको छ । प्राधिकरणले अहिलेसम्म ट्रान्सफर्मर उपलब्ध गराउन सकेको छैन । जसका कारण जिल्लाका कालिमाटी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाबाहेक अन्य आठ पालिकाका १९ हजार ७ सय ८९ परिवार अहिले पनि अध्याँरोमा बस्न बाध्य भएका छन् । 

सम्बन्धित पालिकाका स्थानीय र जनप्रतिनिधिले पटकपटक जिल्ला, प्रदेश हुँदै संघमा ज्ञापनपत्र बुझाउने र बारम्बार ताकेता गर्नुका साथै प्राधिकरणको कार्यालयमा गएर धर्ना दिए पनि अहिलेसम्म निर्माण कम्पनीले बत्ती बाल्ने तर्फ खासै चासो नदेखाएको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । पालिकाको कुल घरधुरी संख्या ४ हजार ८१ रहेकोमा निर्माण कम्पनीले पोल गाड्ने र तार तान्ने काम गरे पनि अहिलेसम्म ट्रान्सफरमर नजोड्दा २ हजार बढी परिवार अध्याँरोमा बस्न बाध्य भएका उनले बताए । ‘गत वर्षदेखि नै हामीले ताकेता गर्दै आएका छौं । ताकेता गरे पछि अलपत्र परेको स्थानमा निर्माण कम्पनीले पोल गाडेर तान तान्ने काम गर्यो । अहिले विभिन्न बहाना बनाई टार्दै आएको छ,’ उनले भने, ‘निर्माण कम्पनी र सम्बन्धित निकायको लापरबाहीका कारण पालिकाका आधा भन्दा बढी घरधुरी सौर्य टुकीको भर पर्दै आएका छन् ।’ 

कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीले बिभिन्न तरिकाले चाँडो काम गर्न दबाब दिए पनि प्राधिकरणको निर्माण सामग्री खरिद महाशाखाले गत वर्ष ट्रान्सफर्मर खरिद गर्न नसक्दा बत्ती बाल्न नसकेको भन्दै बताए । निर्माणको  सुरुवातमा निर्माण कम्पनीले चरम लापरबाही गरेको र अहिले पनि केही स्थानमा पोल गाड्न बाँकी रहेको, केही स्थानमा त्यत्तिकै थन्किएको उनले जानकारी गराए । पालिकाको २० प्रतिशत घरमा मात्र बत्ती पुग्न बाँकी रहेकाले अहिले केही स्थानमा बिजुली बाल्ने काम भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।  
बाग्चौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले निर्माण कम्पनीले काम गरे पनि झारा टार्ने मात्र गर्दै आएको बताए । उनले पालिकाका केही वडामा अझै निर्माण कम्पनीले पोल गाड्न बाँकी रहेको जानकारी दिए । ‘पोल झरेपछि बत्ति बाल्न पाउने शाखामा स्थानीय खुसी भएर वाइरिङ गरेका थिए । कामले पूर्णता पाउन नसक्दा स्थानीयको बत्ती बाल्न पाउने चाहना पूरा हुन सकेको छैन,’ उनले भने । 

जिल्लामा पूर्ण विद्युतीकरण कार्यक्रम २०८० देखि सुरु भए पनि गत वर्ष आवश्यकता अनुसार पोल, तार र ट्रान्सफर्मर खरिद गरेर उपलब्ध गराउन नसक्दा पोल गाडेको र तार तानेको स्थानमा बत्ती बाल्न नसकिएको विद्युत प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले बताए ।

निर्माण कम्पनीले जिल्लाका आठ पालिकामा ७० प्रतिशत बढी काम सम्पन्न गरिसकेको उनले जानकारी दिए । ‘जिल्लाभरीका आठ स्थानीय तहमा ८ हजार २ सय पोल चाहिनेमा अहिलेसम्म ७ हजार १ सय मात्र गाडिएका छन् । १ हजार १ सय पुगेको छैन । पोल गाडेर तार तानेको स्थानमा निर्माण सामग्री खरिद प्रक्रियामा आएको जटिलताका कारण ट्रान्सफर्मर नभएकै कारण बत्ती बाल्न सकिएको छैन,’ उनले भने । खरिद प्रक्रिया अगाडि बढाइसकेकाले कात्तिक अन्तिमसम्म जिल्लाका सबै घरमा बिजुली बल्ने उनले बताए ।    

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully