उनको लेखनले खस शब्दकोष मात्र निकालेन, १७ वर्षको मेहनतको रेकर्ड नै तोड्यो । १३ सय पृष्ठको यो शब्दकोषमा ४० हजार शब्द अटाएको छ ।
What you should know
जुम्ला — चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका ७९ वर्षीय रमानन्द आचार्यद्वारा लिखित ‘खसिया आखर’ नामक खस शब्दकोश प्रकाशित भएको छ । झण्डै १७ वर्षको अध्ययन, अनुसन्धान र लेखनपछि प्रकाशित खस शब्दकोषको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लोकार्पण गरे ।
कहिले दाताको खोजीमा त कहिले खस शब्दको खोजीमा रोकिएको आचार्यको यो कृति सामाजिक विकास मन्त्रालयले प्रकाशन गरिदिएको हो । खस शब्दकोषको लागि शब्द खोज्दै गर्दा कसैले पत्याएनन्, कसैले यो कृति प्रकाशन नहुने बताइरहे ।
केहीले आचार्यको कामको तारिफ गरे । तर आलोचना र प्रसंसाकै बीचबाट उनले खस शब्दकोष प्रकाशन गरेरै छाडे । जिल्ला समन्वय समितिको परिसरमा उनका लागि एउटा कोठा दिइएको थियो । खसिया आखर नामको बोर्ड झुण्ड्याएर उनी रातदिन शब्द लेखनमा लागि रहे ।
आचार्यले भने, ‘नेपाली भाषाको जननी जुम्लाको खस भाषा हो । बल्ल मेरो सपना पूरा भएको छ ।’ उनको लेखनले खस शब्दकोष मात्र निकालेन, १७ वर्षको मेहनतको रेकर्ड नै तोड्यो । १३ सय पृष्ठको यो शब्दकोषमा ४० हजार शब्द अटाएको छ ।
शब्दकोषमा खसभाषाका उपज शब्दहरु मात्रै राखिएका छन् । पछिल्लो दिनमा आयतित आधुनिक शब्दहरु समेटिएका छैनन् । शब्दकोष प्रकाशन गर्ने दाता खोज्न उनलाई समय लागेको थियो । ‘संकलित पाण्डुलिपी दराजमै थन्काएर अस्ताउँछु कि भन्ने लागेको थियो’, उनले भने, ‘जेहोस मर्नुअघि नै प्रकाशन गर्ने धोको पूरा भयो । खस भाषा र सभ्यता जीवित राख्ने प्रयास पूरा भएको छ । अब भावी पुस्ताले यसलाई दस्तावेजका रुपमा अध्ययन अनुसन्धान गर्नेछन् ।’
उनले धेरै निकाय, संघ संस्था, व्यक्ति सबैसँग शब्दकोष निर्माणको लागि पहल गरेका थिए । आर्थिक लाभ प्राप्त नहुने देखेपछि सबै पन्छिए । तर अहिले उनले शब्दकोष पढ्न पाउने गरेर प्रकाशन भएको छ । उनले शब्दकोषको अभिभावक नै कर्णाली प्रदेश सरकार बन्यो । अहिले सामाजिक विकासमन्त्रालयले एक हजार प्रति शब्दकोष प्रकाशन गर्न पुग्ने रकम दिएको छ ।
स्थानीयतहले पनि साथ दिने वचन दिए । शब्दकोषको एक प्रति छाप्न मात्रै एक हजार पाँच सय रुपैयाँ भन्दा धेरै लागेको छ । पहिले पैसा, जनशक्ति र तरिका मिलेन । खस शब्दकोष लोकार्पण गर्दै सामाजिक विकासमन्त्री भण्डारीले खस भाषाको जगेर्ना र पुस्तान्तरणमा यसले ठूलो योगदान दिने बताए । ‘खस भाषा र संस्कृतिको संरक्षणको लागि सरकार प्रतिबद्ध छ,’ मन्त्री भण्डारीले भने, ‘केही स्थानीय तहमा खस भाषाको पाठ्यक्रम निर्माण गरि पठनपाठन भइरहेको छ । जसमा यो शब्दकोषले सुनमा सुगन्ध थप्नेछ ।’
भाषाशास्त्री तथा विद्वान प्राध्यापक डा. माधवप्रसाद शास्त्रीले शब्दकोष प्रकाशनले कर्णालीको भूगोल र शीर उच्च राख्ने कार्य गरेको प्रतिक्रिया दिए । ‘कर्णालीको छाती चौडा भएको छ । भूगोलको एक चुचुरो थपिएको छ,’ उनले थपे, ‘शब्दकोष लेख्ने कार्य सजिलो थिएन । यो जटिल कार्य गर्ने साहस गर्नुभएकोमा लेखक आचार्यप्रति खुसी छौं ।’
‘खसिया आखर’ शब्दकोषले कर्णालीको खस भाषा बुझ्न र अध्ययन गर्न सहज बनेको छ । २०६५ साल बैशाख ११ गते बसेको जिल्ला परिषद्ले खस भाषाको संरक्षणको लागि शब्दकोष प्रकाशन गर्ने निर्णय गरेको थियो । आचार्यलाई शब्द संकलन र सम्पादनको जिम्मा दिइएको थियो ।
खस भाषामा दख्खल राख्ने आचार्यले निकै दुःख गरेर खस शब्द संकलन गरे । उनी कर्णालीका हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लाका ग्रामिण बस्ती सम्म पुगे । हरेक जिल्ला र क्षेत्रमा बोलिने भाषा शैली नै फरक भएकोले शब्दको अर्थ लगाउन निकै कठिन थियो । पछिल्लो समय उनी कम्प्युटर टाइपिङको काममा खटिए । आफू कम्प्युटर चलाउन नसक्ने भएकोले टाइपिस्ट राखेर शब्दहरु टाइप गर्न लगाए । कतिपय खस शब्दहरू कम्प्युटरको माइक्रो सफ्टवर्डमा पनि भेटिएनन ।
तत्कालीन जिल्ला विकास समितिले पहिलो वर्ष २ लाख रुपैयाँ छुट्याएर शब्दकोष लेखनको सुरुवात गरेको थियो । खस भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोष नै निर्माण गरिएको आचार्यको भनाइ छ ।
शब्दकोषलाई चार उपभाषिकामा विभाजन गरिएको छ । पहिलो ८० दराली भाषिकामा ८० दरा, पाँच सय दरा र सिञ्जा दराका शब्दहरू राखिएको छ । दोस्रो त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पामा बोलिने शब्दहरू, तेस्रो रासकोटी भाषिकामा कालीकोटमा बोलिने शब्द र चौथो मुहु भाषिकामा मुगु र हुम्लामा बोलिने शब्द समावेश गरिएको छ ।
शब्द संकलन तथा लेखनका लागि पाँच सदस्यीय समिति नै गठन गरिएको थियो । तर पछि न समिति सक्रिय भयो, न त आर्थिक सहयोग नै जुट्यो उनी एक्लैले शब्दहरु संकलन तथा लेखनको काम गर्न थाले । सदस्यहरू गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईं थिए । उनीहरु सुरुवाती केही समय मात्रै खटिए ।
पछि उनीहरूले खटिन छोडेपछि आचार्य दैनिक आधा घण्टा हिँडेर सदरमुकाम खलंगा बजार पुग्थे । अहिले जस्तो सडक सञ्जालमा नजोडिएकोले पैदल हिँडेर जानुको विकल्प थिएन । संकलन गरेका शब्दहरु बिना सेवा सुविधा एक्लै अर्थ्याइरहेका हुन्थे । शब्द संकलन गर्न गाउँगाउँ जानुपर्ने त्यसैमा बजेट अभावको समस्या थियो ।
तर आचार्य एक्लैले शब्द खोज्दै वर्णानुक्रमदेखि अर्थ्याउने लगायतका काम गरे । ‘यो शब्दकोषले १८४६ पूर्वको खस राज्यको पहिचान लोप हुन नदिने र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्व जीवन्त राख्ने अपेक्षा राखिएको छ ।
अहिले गाउँबस्तीमा विदेशी भाषाको हालीमुहाली छ,’ आचार्यले भने, ‘युवा पुस्तालाई खसभाषाको अध्ययन अनुसन्धानको लागि यो कोसेढुंगा साबित हुनेछ ।’
