नयाँ निकुञ्ज मुगुको मुगमकार्मारोङ गाउँपालिकास्थित चितै, डोल्फू, कार्ति, किम्री, वाडरी, ताखा र खारी क्षेत्रको भू–भागलाई ८ सय ४३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
What you should know
सुर्खेत — तत्कालीन सरकारले निर्णय गरेको छायाँनाथ राष्ट्रिय निकुञ्ज कार्यान्वयनमा जान थालेको छ । जसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट व्यवस्थापन, पूर्वाधार निर्माण तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लगायतको काम थालेको हो ।
गत भदौ १३ गतेको मन्त्रिपरिषद् नयाँ निकुञ्ज बनाउने घोषणा गरेको थियो । योसँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ । यसअघि से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेटिएको मुगुको भू–भागलाई छुट्याएर अलग्गै राष्ट्रिय निकुञ्ज बनाइएको हो ।
‘हिमाली जिल्लामा अरु पनि निकुञ्ज बढी भू–भागको हुँदा व्यवस्थापनमा समस्या छ,’ विभागका सिनियर इकोलोजिष्ट हरिभद्र आचार्यले भने, ‘आन्दोलन, नयाँ सरकार गठनलगायत कामले राजपत्रमा सूचना प्रकाशित हुन ढिलाइ भइरहेको छ, अहिले हामी आन्तरिक रुपमा बजेट व्यवस्थापन, ओएनएमलगायतको तयारीका काम गरिरहेका छौं ।’
उनका अनुसार नयाँ निकुञ्ज मुगुको मुगमकार्मारोङ गाउँपालिकास्थित चितै, डोल्फू, कार्ति, किम्री, वाडरी, ताखा र खारी क्षेत्रको भू–भागलाई ८ सय ४३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसको मध्यवर्ती क्षेत्रको क्षेत्रफल १ सय ७७ वर्गकिलोमिटर छ ।
यसअघि सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल ३ हजार ५ सय ५५ वर्ग किलोमिटर थियो । अहिले डोल्पामा मात्र सीमित भएको सेफोक्सुण्डोको क्षेत्रफल २ हजार ७ सय १२ वर्गकिमि हुँदा पनि नेपालको सबैभन्दा ठूलो निकुञ्ज नै कायम भएको विभागका सूचना अधिकारी आचार्यले बताए ।
‘सेफोक्सुण्डोको मुख्यालयबाट जान नै ४ दिन लाग्ने, जसका कारण कर्मचारी खटनपटन, चोरीसिकारी नियन्त्रण, मध्यवर्ती क्षेत्रका बासिन्दालाई परिचालनलगायतमा ठूलो समस्या थियो,’ उनले भने, ‘ओएनएमको काम सकिएपछि सेफोक्सुण्डो र रारा निकुञ्जमा उपलब्ध दरबन्दीबाट नयाँ दरबन्दी सिर्जना गर्ने, कार्यालय स्थापना, भवन निर्माणलगायतको काम हुनेछ ।’
उनले तत्कालका लागि संरक्षण अधिकृतको नेतृत्वमा ४० जना कर्मचारी व्यवस्थापन गरिने जानकारी दिए । विभागले मकालु बरुण, लामटाङलगायत राष्ट्रिय निकुञ्जमा पनि ठूलो भूगोल हुँदा समस्या भएको भन्दै केही भूभाग छुट्याउने तयारी गरेको छ ।
तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही मुगुकै बासिन्दा थिए । उनकै प्रस्तावमा नयाँ निकुञ्जको निर्णय भएको थियो । सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार नयाँ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा ७ वटा गाउँ र दुई वटा उपभोक्ता समिति छन् । ‘नयाँ निकुञ्जमा यार्सागुम्बा संकलन क्षेत्र भएकाले अर्थतन्त्रमा पनि टेवा पुर्याउने देखिन्छ, रारा र छायाँनाथमा जाने पर्यटकबाट राजस्व संकलन हुने भएकाले केही वर्षमै निकुञ्ज आत्मनिर्भर बन्न सक्छ,’ उनले भने, ‘मुगुको प्रमुख धार्मिकस्थल छायाँनाथ क्षेत्र समेटिएपछि यो निकुञ्ज धार्मिक पर्यटनको हिसाबले महत्त्वपूर्ण मानिएको छ ।’
हिउँ चितुवा, नाउर, झारल, डाँफे, मुनाललगायत वन्यजन्तु र पन्छीहरुको बासस्थान भएकाले केही वर्षमै यसले छुट्टै पहिचान बनाउने उनको भनाइ छ । मुगुमा यसअघि पनि रारा राष्ट्रिय निकुञ्ज छ । २०३२ सालमा सरकारले रारा र हुटुगाउँका बासिन्दालाई बाँकेको चिसापानी सारेर रारा राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । जसले सोरु, खत्याड गाउँपालिकासहित छायाँनाथ रारा नगरपालिका र जुम्लाको कनकासुन्दरी गाउँपालिकामा फैलिएको छ । स्थानीय अगुवा सुन्दुक लामाका अनुसार यसअघि मुगमकार्मारोङका ७ वटा बस्तीका बासिन्दालाई फोक्सुण्डो निकुञ्जको हेडक्वाटर गएर सिफारिस बनाउन, क्षतिपूर्ति लिन, योजना सम्झौता गर्न कम्तीमा ४ दिन लाग्ने गरेको थियो ।
‘भौगालिक रुपमा विकट हुँदा हामीले निकुञ्ज र मध्यवर्ती क्षेत्रको अनुभूति गर्न पाएका थिएनौ,’ उनले भने, ‘नयाँ निकुञ्ज बनेपछि अब आयआर्जनका क्रियाकलाप गरी आत्मनिर्भर बन्न सहयोग पुग्ला ।’ अर्का स्थानीय पाल्जोर तामाङले पर्यटन र धार्मिक क्षेत्रको विकाससँगै अन्य पूर्वाधार निर्माणमा सहयोग पुग्ने आशा पलाएको बताए ।
मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले निकुञ्जको कार्यालयका लागि डोल्फूस्थित परलोकमा जग्गा व्यवस्थापनको तयारी गरिएको बताए । ‘यो पर्यापर्यटनको हिसाबमा पनि निकै महत्त्वपूर्ण ठाउँ हो, छुट्टै निकुञ्ज भएपछि धार्मिकरुपमा पनि यसको महत्त्व हुने नै भयो,’ उनले भने, ‘रारा भ्रमणमा आउने पर्यटकलाई छायाँनाथ राष्ट्रिय निकुञ्ज हुँदै शे–फोक्सुण्डो जान पनि सजिलो हुन्छ ।’ नयाँ निकुञ्जमा झारल, नाउर, थार, हिमचितुवा, घोरल, मृगलगायत वन्यजन्तुको बासस्थान रहेको उनको भनाइ छ ।
निकुञ्जमा यार्सागुम्बालगायत विभिन्न पाटन पाइने भएकाले स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने उनले जानकारी दिए । उनका अनुसार यो क्षेत्रमा झण्डै २० वटा यार्सा पाइने पाटनहरु छन् । तिहार गुम्बा, तिहार दोभान, चिटिम गुम्बालगायत धार्मिक क्षेत्रका लागि पनि यो निकुञ्ज महत्त्वपूर्ण रहेको गाउॅपालिका अध्यक्ष लामाले बताए ।
छायाँनाथ राष्ट्रिय निकुञ्जको माथिल्लो क्षेत्र हुँदै शेफोक्सुण्डो पुग्न ट्रेल हिमालयन यात्राको लागि पनि निकुञ्ज महत्वपूर्ण रहेको गाउॅपालिका अध्यक्ष लामा बताउँछन् । प्राचीन डोल्फू तामाखानी पनि निकुञ्जभित्रै पर्ने भएकाले आर्थिक समृद्धिका लागि यसको महत्त्व धेरै रहेको उनको भनाइ छ । उनका अनुसार पाटन क्षेत्रमा चौरी, झोवालगायतका गोठहरु प्रसस्त छन् भने तामाङलगायत संस्कृतिका लागि पनि घुम्नलायक ठाउँ हो ।
समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइमा छायाँनाथ तिर्थस्थलको नाममा निकुञ्जको नामाकरण गरिहेको उनले जानकारी दिए । निकुञ्ज स्थापनाले दुर्लभ वन्यजन्तु र जथाभावी उत्खनन्ले लोप हुँदै गएको यार्सागुम्बालगायत जडिबुटीको पनि संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ ।
