सल्यानमा ज्वरोसँगै स्क्रब टाइफसका बिरामी बढेपछि प्रभावित क्षेत्रमा बिरामीको रगत परीक्षण

समयमै रोग पहिचान गर्न नसक्दा उच्च ज्वरोले तीन र स्क्रबटाइफसबाट एक गरी सल्यानमा चार जनाले ज्यान गुमाइसकेका छन् ।

कार्तिक १, २०८२

विप्लव महर्जन

Blood tests for patients in affected areas after scrub typhus cases increase along with fever in Salyan

What you should know

सल्यान — सल्यानमा ज्वरोसँगै स्क्रब टाइफसका बिरामी बढेका छन । जिल्लाका अस्पताल तथा स्वास्थ्यसंस्थामा बिरामीको भिड लाग्न थालेको छ ।

समयमै रोग पहिचान गर्न नसक्दा उच्च ज्वरोले तीन र स्क्रबटाइफसबाट एक गरी सल्यानमा चार जनाले ज्यान गुमाइसकेका छन् । अहिले स्वास्थ्य सेवा कार्यालय सल्यानले ज्वरोका बिरामी बढेका पालिकामा गएर स्क्रब टाइफस पहिचानका लागि किटमार्फत बिरामीको रगत परीक्षण गर्दै आएको छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले जिल्ला अस्पतालमा उपचार गराउन आएका ७७ जना र प्रभावित क्षेत्रमा गएर परीक्षण गर्दा १८ गरी ९५ जनामा स्क्रब टाइफस देखिएको बताए । जिल्ला अस्पताल आएका केहीलाई नेपालगन्ज रिफर गरिएकामा एक जनाको मृत्यु भइसकेको छ । अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।  

‘रोगको पहिचान हुन नसकी अकालमा बिरामीले ज्यान गुमाउन नपरोस् भनी कार्यालयले पालिका तथा प्रदेश सरकारको सहकार्यमा ज्वरोका बिरामी बढेका स्थानमा गएर किटमार्फत स्क्रब टाइफस परीक्षण गर्न थालेको हो,’ मगरले भने । स्क्रब टाइफसको लक्षण डेंगी, टाइफाइड, कोरोनासँग मिल्दोजुल्दो हुने, उच्च ज्वरो आउने र परीक्षण गर्न ढिलाइ गरे ज्यानै जाने खतरा भएकाले त्यस्ता समस्या देखिए तत्काल रगत परीक्षण गराउन उनले आग्रह गरेका छन् । 

Blood tests for patients in affected areas after scrub typhus cases increase along with fever in Salyan

स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप अधिकृत ताराप्रसाद रिजालले ज्वरोबाट सबैभन्दा प्रभावित बाग्चौर नगरपालिका-४, शिवरथ र छत्रेश्वरी गाउँपालिका-४ झिम्पे गएर किटमार्फत रगत परीक्षण गर्दा बाग्चौरमा १० र छत्रेश्वरीमा ८ जनामा स्क्रब टाइफस देखिएको बताए । जिल्लाका १० स्थानीय तहमध्ये शारदा नगरपालिकामा अहिलेसम्म ३०, बाग्चौरमा ३०, बन्गाडमा चार, छत्रेश्वरीमा १७, कपुरकोटमा तीन, कालिमाटीमा चार, सिद्धकुमाखमा दुई र कुमाख गाउँपालिकामा एक जनालाई स्क्रब टाइफस देखिएको उनले जानकारी दिए । उनका अनुसार दुई पालिकाको प्रभावित क्षेत्रमा परीक्षण गर्दा दुई जनामा डेंगीसमेत देखिएको थियो ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले मौसम परिवर्तनसँगै पालिकाभित्र ज्वरोका विरामी बढेका र उच्च ज्वरोका कारण एक जनाको मृत्यु भइकेको बताए । उच्च ज्वरोले मृत्यु भएकी महिलालाई स्क्रब टाइफसजस्तै लक्षण देखिएको थियो ।

बाग्चौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले ज्वरोसँगै स्क्रब टाइफसका बिरामी बढेपछि परीक्षणका लागि पालिकाले किट खरिद गरेको बताए । खरिद गरेका किट स्वास्थ्यसंस्थामा पठाउने उनले जानकारी गराए । पालिकाभित्र कसैलाई उच्च ज्वरो आएमा मेडिकलबाट औषधि किनेर खानुभन्दा पहिला स्वास्थ्यकर्मीसँग सल्लाह लिन उनले आग्रह गरेका छन् । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully