वरिपरि पर्खाल लगाएर ठड्याइएको यो संरचना ‘बाँदरको पुच्छर लौरो न हतियार’ झैं भएको त्रिभुवन माविका प्रधानाध्यापक गोपीराम केसीले बताए ।
रुकुम पश्चिम — जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–१ खलंगास्थित एक विद्यालय परिसरमा बनाउन लागिएको ‘घण्टाघर’ ९ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन ।
त्रिभुवन जनता माध्यमिक विद्यालयको पूर्वतर्फको करिब १ सय ५० वर्गमिटर जग्गामा ‘घण्टाघर’ नाम दिएर बनाइएको संरचनाले ९ वर्ष बितिसक्दा पनि पूर्णता नपाएर अलपत्र परेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा तत्कालीन जिल्ला विकास समितिको कुल १० लाख लगानीमा निर्माण थालिएको यो संरचनामा त्यसपछि पनि केही लाख रकम लगानी भएको भनिए पनि त्यसको तथ्यांक भने भेटिएको छैन । वरिपरि पर्खाल लगाएर ठड्याइएको यो संरचना ‘बाँदरको पुच्छर लौरो न हतियार’ झैं भएको त्रिभुवन माविका प्रधानाध्यापक गोपीराम केसीले बताए ।
‘यहाँ रहेको विद्यालय भवन भत्काएर यो संरचना बनाइयो । तर यतिका वर्षसम्म यसको अर्थ केही देखिएन,’ उनले भने, ‘पूरा बनाएको भए त केही हुन्थ्यो पनि होला । तर बीचैमा छोडियो । यसकारण यो संरचनाले हामीलाई ठाउँ मात्रै साँघुरो भएको छ ।’
मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष ज्ञानु चन्दले पनि यो के उद्देश्यका लागि बनाइएको हो भन्ने प्रस्ट नभएको बताए । ‘तत्कालीन समयमा केही न केही सोचेरै बनाइएको होला । तर, हालसम्म यसको उपयोगिता भने देखिएन,’ उनले भने, ‘अहिले त वरिपरिबाट घरहरूले घेरेपछि विद्यालय क्षेत्र नै साँघुरो भएको छ । यसलाई अब के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ ।’
