सैन्य ‘अन्तिम दलेल कवाज’ सम्पन्न, १०४ जना दिक्षित

शिक्षालयले हालसम्म करिब १ हजार २ सय ६२ जना सैन्य उत्पादन गरेको छ ।

आश्विन २८, २०८२

ज्योति कटुवाल

Military ”Final Dalel Qawaz” completed, 104 people trained

What you should know

सुर्खेत — सुर्खेतस्थित उत्तरपश्चिम पृतना तालिम शिक्षालय, लेकपर्शा ब्यारेकमा सैन्य आधारभूत तालिम सम्पन्न भएको छ । सुर्खेतको लेकवेशी नगरपालिका वडा–१० लेकपर्शामा सैन्य आधारभूत तालिमको ‘अन्तिम दलेल कवाज’ सोमबार समापन भएको छ ।

२०८१ मंसिर १६ गतेदेखि सुरु भएको सैन्य आधार तालिम सोमबार सम्पन्न गरिएको हो । तालिम समापनका अवसरमा सैन्य जवानहरूले अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै १ सय ४ जना जना सैन्यहरू दीक्षित भएको शिक्षा अधिकृत प्रमुख सेनानी ईश्वर सिजवालले बताए । 

लुम्बिनी प्रदेश, सुदूरपश्चिम, कर्णाली, कोशी र मदेश प्रदेशका सैन्य दीक्षित भएका हुन् । उत्तरपश्चिम पृतना हेडक्वारका पृतनापति (उपरथी) दिपेश जंग शाहले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्यमान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएका सबैलाई बधाई दिएका थिए ।

‘सेना बलियो भए मात्र देश बलियो हुन्छ । सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वलाई निर्वाह गर्नु पर्छ,’ उनले भने, ‘जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध रहनु होला ।’ 

उक्त तालिममा सर्वोकृष्ट हुने सैन्य खुसीराम रानालाई श्रेष्ठताका प्रतीक स्वरूप खुकुरीद्वारा पुरस्कृत गरिएको थियो । शिक्षाअधिकृत प्रमुख सेनानी सिजवालका अनुसार शिक्षालयले पृतना अन्तर्गतका बाहिनी, गण तथा गुल्महरुका पदिक, बिल्लादार तथा जवानहरुलाई जुनियर लिडरसिप तथा विभिन्न सैनिक कला र कौसलता सम्बन्धी तालिम दिनुका साथै योग्य शिक्षक उत्पादन गर्दै आएको छ । शिक्षालयले हालसम्म करिब १ हजार २ सय ६२ जना सैन्य उत्पादन  गरेको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully