औषधि सेवनपछि पनि उच्च ज्वरो नरोकिएको र स्वासप्रस्वासमा थप समस्या भएपछि जिल्ला अस्पताल सल्यानमा उपचारका लागि आफन्तले ल्याएका थिए ।
What you should know
सल्यान — स्क्रब टाईफस र उच्च ज्वरोले सल्यानमा दुई जनाको मृत्यु भएको छ । स्क्रव टाईफसका कारण जिल्लाको बाग्चौर नगरपालिका–१ कालाखेतका गजेन्द्र केसी र उच्च ज्वरोका कारण दार्मा गाउँपालिका ३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको मृत्यु भएको हो ।
दुवैको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए । उनका अनुसार बाग्चौर नगरपालिका–१ कालाखेतका गजेन्द्र केसीलाई सुरुमा जिउ दुख्नुका साथै ज्वरो आएको र उच्च ज्वरो आएपछि बाग्चौरस्थित एक मेडिकलमा केही दिन उपचार गराएका थिए ।
औषधि सेवनपछि पनि उच्च ज्वरो नरोकिएको र स्वासप्रस्वासमा थप समस्या भएपछि जिल्ला अस्पताल सल्यानमा उपचारका लागि आफन्तले ल्याएका थिए । लक्षण अनुसार तत्काल स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाईफस देखिएको थियो ।
जिल्ला अस्पताल सल्यान ल्याएको आधा घन्टा नबित्दै उनको स्वास्थ्यमा बढी समस्या देखिएपछि नेपालगन्ज रेफर गरिएको र नेपालगन्जमै केसीको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. बुढाले जानकारी गराए । ‘पछिल्नो समयमा सल्यानमा स्क्रव टाईफसका बिरामी बढिरहेका छन् । जिल्ला अस्पताल सल्यानमै उपचार भएर घर फर्किसकेका छन्,’ उनले भने, ‘समयमै रोग पहिचान गर्न नसक्दा उपचारमा भएको ढिलाईका कारण केसीले अकालमा ज्यान गुमाउनुपर्यो ।’ कार्यालयको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सल्यानमा ७० जनाले जिल्ला अस्पताल सल्यानमा उपचार गराई ठिक भएर घर फर्किएका उनको भनाइ छ ।
पछिल्नो समयमा सल्यानमा स्क्रव टाईफसको जोखिम बढदै गएको र रोग पहिचान गर्न नसकी ज्वरोको जथाभावी औषधि सेवन गर्दा बिरामीको ज्यान जोखिममा पर्दै आएको डा. बुढाले जानकारी गराए । लगातार केही दिनदेखि उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका समस्या देखिएमा जिल्ला अस्पताल सल्यान आएर रगत परीक्षणका साथै उपचार गर्न उनले जिल्लाबासीलाई आग्रह गरेका छन् ।
यस्तै दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले दार्मा गाउँपालिका ३ की महिला खत्रीको उच्च ज्वरोका कारण जिल्ला बाहिरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । महिलालाई स्क्रव टाईफस जस्तै लक्षण देखिए पनि प्रमाणित नभएको उनले जानकारी गराए । पछिल्नो समयमा पालिका भित्र मौसमी ज्वरोका बिरामी बढ्दै गएका र पालिकामै रगत परीक्षणको व्यवस्था नहुँदा उपचारमा समस्या हुने गरेको उनको भनाइ छ ।
