चाडबाडमा पनि कहिल्यै छैन ढुक्कको यात्रा

कर्णालीमा दसैंको समयमा मात्रै ५१ वटा सवारी दुर्घटना भएका छन् । जसमा ९ जनाको ज्यान गएको छ भने १ सय २३ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक छ ।

आश्विन २४, २०८२

कृष्णप्रसाद गौतम

There is never a safe journey even during the festival

What you should know

सुर्खेत — दसैंको फूलपातीको अघिल्लो दिन राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै रुकुम पश्चिमबाट दाङ जाँदै गरेको लु–२ ख ६५०२ नम्बरको जिप दुर्घटना हुँदा एकैघरका ४ जनाले ज्यान गुमाए ।

दुर्घटनामा परी रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–५ का २७ वर्षीय प्रकाश केसी, शशिधर केसी र ६८ वर्षीया पवी केसीको घटनास्थलमै मृत्यु भयो भने ३६ वर्षीया विना केसीको उपचारका क्रममा ज्यान गयो ।

‘दसैंको मुखैमा कत्रो बज्रपात पर्‍यो, दुर्घटनाले गाउँ नै शोकमग्न बन्यो,’ बाँफीकोट–५ का अगुवा पूर्णबहादुर केसीले भने, ‘गाउँमा दसैंको तयारी सुरु भइसकेको थियो, बाहिरबाट फर्किएकाहरू नाचगान, भेटघाट र मीठो–मसिनो खानाको तयारीमा थिए, केसी परिवारको दसैं त रोकियो, दुर्घटनापछि छिमेकीहरूले पनि चाडबाडको रमाइलो गर्न पाएनन् ।’ जिप सडकदेखि झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

कर्णालीमा दसैंको समयमा मात्रै ५१ वटा सवारी दुर्घटना भएका छन् । जसमा ९ जनाको ज्यान गएको छ भने १ सय २३ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक छ । चालु आर्थिक वर्षका ३ महिनामा मात्रै कर्णालीमा २ सय १६ दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । जसमा ४ सय ९४ जना घाइते भएका छन् । तीन आर्थिक वर्षमा सबैभन्दा धेरै चाडपर्वकै समयमा दुर्घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

दसैंदेखि तिहारको समयमा झण्डै एक महिनामा गत वर्ष ९७ र आर्थिक वर्ष २०८०/८१ मा १ सय ४ दुर्घटना भएका छन् । चाडपर्वका बेला भएका दुर्घटनामा तीन आर्थिक वर्षमा ८३ जनाले ज्यान गुमाएका छन् । ‘चाडपर्वकै बेला गाडीको चाप पनि धेरै हुन्छ, यात्रुहरूको भीडभाड पनि,’ कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले भने, ‘त्यसमा चालकको असावधानी, सडकको दुरावस्था, मादक पदार्थ सेवन, यान्त्रिक खराबी र तीव्रगतिका कारण बढी दुर्घटना हुने गरेको हो ।’

उनले विशेष अभियान चलाएर यस वर्ष ट्राफिक चेकिङमा कडाइ, हाइवे गस्ती, पेट्रोलिङ, क्विक रेस्पन्सीविलिटी टिम (क्यूआरटी) टोली परिचालन र राडारमार्फत सवारी साधनको निगरानी गरिएको बताए । उनका अनुसार ४३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो जसले यात्रुलाई ठगिनबाट जोगाइ सुरक्षित यात्रा गर्न मद्दत पुर्‍याएको छ । 

कर्णालीका सबैजसो मुख्य राजमार्ग जीर्ण हुँदा चाडबाडको बेला यात्रुहरू जोखिममा यात्रा गर्न बाध्य छन् । कर्णाली करिडोर, भेरी करिडोर, राप्ती, मध्यपहाडी र कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा दसैं मनाउन गएका यात्रुहरू अझै पनि बीच बाटोमै अलपत्र परेका छन् ।

‘खोलामा पुल नहुँदा गाडीबाट झर्दै झोलुंगे पुलको यात्रा गर्दै फेरि गाडी चढ्नुपर्ने बाध्यता छ,’ भेरी करिडोर हुँदै डोल्पाबाट दसैं मनाएर सुर्खेत फर्किएका ठूलीभेरी नगरपालिका–३ का दिनेश बुढाले भने, ‘कच्ची सडकमा भगवान् भरोसामा यात्रा गर्नुको विकल्प छैन, त्यसमा तीव्र गति र क्षमताभन्दा बढी यात्रु राखिँदा यात्रामा हुने सास्तीको कुरै नगरौं ।’ राप्ती लोकमार्गमा पनि अधिकांश कालोपत्र उप्किएपछि रुकुम पश्चिमदेखि दाङसम्मको १ सय ४७ किलोमिटरको यात्रा गर्न दिनभरि लाग्ने गरेको मुसीकोट नगरपालिका–३ का व्यवसायी भोलाप्रसाद केसीले बताए ।

‘बाटोभरि पहिरोको त्रासै त्रासमा यात्रा गरियो,’ उनले भने, ‘सामान्य वर्षा हुनेवित्तिकै बडेमानका चट्टान सडकमा उभिन्छन्, घण्टौं बाटोमा अलपत्र पर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार बढी चौडा भएकाले र अधिकांश खण्ड कालोपत्र भएकाले तुलनात्मक रुपमा मध्यपहाडी राजमार्गको यात्रा सहज छ । 

यस वर्ष बर्खा लागेयता ३९ दिन कर्णाली राजमार्ग बन्द भएको छ । प्रहरीका अनुसार कुनै दिन एकै ठाउँमा ५ पल्टसम्म पहिरो जाँदा यात्रुहरू ठाउँठाउँमा अलपत्र पर्ने गरेका छन् । ‘साघुँरो बाटो, सबैतिर पिच उप्किएको छ, त्यसमा पनि माथिबाट कतिबेला पहिरो खस्छ भन्ने पिर,’ जुम्ला खलंगाका आशिष देवकोटाले भने, ‘थोत्रा गाडीमा क्षमताभन्दा बढी यात्रु राख्दा कुन बेला गाडी कर्णालीमा खस्छ भन्ने जोखिम हुन्छ, सडककै कारण दसैं मनाउन गएकाहरू तिहारपछि मात्र फर्किन्छन् ।’

राजमार्गअन्तर्गत दैलेखको दहीखोला, कालीकोटको गगनेखोला, एसमोड, हुल्म, सेरीघाट, सुनारखोला, गल्ली, मोल्फा, सेराबाडा, टाकुल्ला, भैसींगौडा, टिमुरे, गाल्जे, राँचुली र धनाडामा पहिरोको बढी जोखिम रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए । ‘पहिरो पन्छाएर सवारी पठायो, १/२ घण्टामै फेरि पहिरो आयो भन्ने खवर आउछ,’ उनले भने, ‘भिरालो जमीन, कमजोर माटो र सडक निर्माणको क्रममा गरिएको अत्यधिक विस्फोटनले बढी पहिरो जाने गरेको हो ।’

बजेट अभावका कारण पहिरो आउने ठाउँमा सामान्य मर्मत बाहेक अन्य संरचना निर्माण गर्न नसकिएको उनको गुनासो छ । यो वर्ष सडक बोर्डबाट निकासा भएको ९० लाख रुपैयाँको आकस्मिक बजेटबाट जोखिमपूर्ण ठाउँमा पर्खाल लगाउने, तारजाली भर्ने, सडक सुधार गर्नेलगायत काम गरिएको उनले जानकारी दिए । 

विश्व बैकको सहयोगमा ०७२ सालमा संघीय सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत १ अर्ब रुपैयाँमा राजमार्गमा कालोपत्रे गरिएको थियो । पछिल्लो तीन वर्षमा मात्रै यो सडकमा झण्डै ७० करोड खर्च भएको सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले जनाएको छ । तर झण्डै ८० प्रतिशत कालोपत्र उप्किएपछि पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने राजमार्गमा एकपटक यात्रा गरेकाहरू अर्कोपल्ट फर्केर जानै डराउने गरेको बस चालक पूर्णबहादुर बुढथापाले बताए । उनका अनुसार अधिकांश ठाउँमा सडक ‘वान वे’ हुँदा  गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता छ ।

रिजर्भ गाडी एक दिनमा सुर्खेतबाट जुम्ला पुगे पनि यात्रुबाहक गाडीहरू एक दिन कालीकोटमा बास बस्नुपर्ने उनको भनाइ छ । ‘अधिकांश ठाउँमा ५ मिटरमा मात्र सडक छ भने घुम्ती नमिलेका कारण गाडी व्याक गर्दै यात्रा गर्नुपर्छ,’ कर्णाली राजमार्गमा झण्डै ५ वर्षदेखि गाडी चलाइरहेका उनले भने, ‘खाल्डैखाल्डा र कमजोर भूगोल भएको सडकमा खाल्डा जोगाउन खोज्दा दुर्घटनामा पर्नुपर्ने खतरा छ, सुर्खेतबाट जुम्ला गाडी लैजाँदा पट्टा नभाँचिएको, टायर नपड्किएको दिनै हुँदेन ।’

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठले कर्णाली राजमार्गमा अधिकांश कालोपत्र उप्किएपछि यातायातका साधन सञ्चालनमा समस्या भएको बताए । ‘पुराना गाडी, क्षमताभन्दा बढी यात्रु  र अत्यधिक गतिले दुर्घटना बढिरहेका छन्,’ उनले भने, ‘कर्णालीको कठिन भूगोल त्यसैमा पनि जीर्ण सडक हुँदा दुर्घटना रोक्न चुनौती छ ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully