अहिले लक्ष्मीको सिको गरेर गाउँका महिला आत्मनिर्भरको माध्यम खोजिरहेका छन् । कसरी व्यापार थाल्ने, कुन जातको भेडा पाल्ने, सोधिरहेका छन् ।
जुम्ला — जुम्ला पातारासी-१ स्यालागढीगाउँकी लक्ष्मी ऐडी आठ वर्षदेखि निरन्तर दसैंमा भेडा बेच्न सदरमुकाम खलंगा आइपुग्छिन् । उनी प्रत्येक पटक न्यूनतम १५ देखि अधिकतम २० वटा भेडा बेचेर फर्किन्छिन् ।
उनी पाटनदेखि दसैंको एक साताअघि नै भेडा ल्याउन सुरु गर्छिन् । सदरमुकाम खलंगाको बजारमा उनले ल्याएका भेडा न्यूनतम १५ देखि २५ हजार रुपैयाँसम्म बिक्री हुन्छन् । ‘हरेक वर्षको दसैं भेडा बेचेर कमाएको रकमले मनाइरहेका छौं,’ बजारसम्म भेडा पुर्याुउनु त अहिले बानी नै भइसक्यो लक्ष्मीले थपिन्, ‘सुरुका दिनमा त निकै त्रास हुन्थ्यो । राति भेडा कहाँ राख्ने, कसरी बेच्ने, कसले किनिदेला भन्ने चिन्ताले सताइरहेको हुन्थ्यो तर अहिले पुराना ग्राहकले पहिले नै चिनिहाल्छन् । भेडा बेच्न पनि निकै सजिलो बनेको छ ।’
लक्ष्मीले हरेक वर्ष ६० देखि ७० भेडा पालन गर्दै आएकी छन् । श्रीमान् जयबहादुरले उनलाई साथ दिएका छन् । कति भेडा बेच्ने, कति भेडा पाल्ने र भेडा बेचेर कमाएको पैसा कति खर्च गर्ने र कति बैंकमा बचत गर्ने भन्नेबारेमा समेत परिवारमा छलफल हुने गरेको छ ।
दसैंमा मात्रै तीन लाख रुपैयाँभन्दा बढी मूल्यका भेडा बेच्ने गरेको अनुभव उनीहरुको छ । 'भेडा बेचेको रकमले दसैं मात्र मनाउदैनौं,' लक्ष्मीका श्रीमान् जयबहादुरले भने, ‘बालबच्चाको स्कुल खर्च, लत्ताकपडा, नुन, तेलसमेत यहीबाट जोहो हुने गर्छ ।’ भेडापालन गरेर हरेक दसैंमा बेच्ने गरेबाट उनको परिवार अर्काको मजदुरी गर्न र कालापहाड जानु परेको छैन ।
भेडालाई दाना दिने, स्वास्थ्य जाँच गर्ने सबैको चाँजोपाजो लक्ष्मी नै मिलाउँछिन् । उनको गाउँदेखि खलंगा पुग्न झन्डै पाँच घण्टा लाग्छ । गाउँदेखि भेडा ढुवानी गर्ने राम्रो बाटो छैन । हिँडाएरै बजारसम्म भेडा पुर्यानउनुपर्ने बाध्यता छ ।
बिहानै चिसोको सिरेटोले सताउँछ । निरन्तर हिँड्दा हातखुट्टा दुख्छन् । तर जब भेडा किन्ने व्यापारीहरु बगालमा पसेर छान्न थाल्छन्, लक्ष्मीको थकान हराउँछ । हरेक वर्ष उनका ग्राहक दोहोरिरहन्छन् । उनको नम्र बोलीले ग्राहकहरु पनि आकर्षित हुने गरेका छन् ।
सदरमुकाम खलंगामा सयौं भेडापालकले भेडा बेच्न ल्याइरहेका छन् । सयौंको बीचमा एक्ली महिलाले भेडा बेचिरहेको देखेर कतिपय दंग पर्ने गरेको उनले सुनाइन् । लक्ष्मी खलंगा बजारको भेडा बेच्ने व्यापारी मात्र होइनन् । एक असल भेडी गोठालो हुन् । त्यो भन्दा पनि दुर्गममा प्रेरणाकी स्रोत हुन् ।
अहिले लक्ष्मीको सिको गरेर गाउँका महिला आत्मनिर्भरको माध्यम खोजिरहेका छन् । 'पहिला डर लाग्थ्यो, छोरी मान्छे भएर धेरै काम गर्न मिल्दैन कि जस्तो लाग्थ्यो,‘ उनले भनिन्, ‘तर अहिले त महिलाहरू आफैं आएर सोध्छन् — कसरी सुरु गर्ने, कुन जातको भेडा राम्रो हुन्छ ?’
सोही गाउँकी रामु ऐडीले लक्ष्मीको सल्लाहमा गाउँका महिलाहरु भेडापालनमा लाग्न थालेको बताइन् । सरकारले व्यावसायिक किसान हेरेर तालिम,अनुदान, ऋण सहुलियत जस्ता सहयोग गरे भेडापालनलाई नमुना बनाउन सकिने उनको भनाइ छ ।
