भिमबहादुरका छोरा अमर खड्काका अनुसार मंगलबार अपराह्न साढे ३ बजेदेखि उनी परिवारको सम्पर्कमा छैनन् ।
रुकुम पश्चिम — मुसिकोट नगरपालिका–९ लालिबाङका एकजना स्थानीय सम्पर्कविहीन भएका छन् । गत बिहीबार घरबाट निस्केका ६५ वर्षीया भिमबहादुर खड्का अहिलेसम्म सम्पर्कमा आउन नसकेको उनको परिवारले जानकारी दिएको छ ।
भिमबहादुरका छोरा अमर खड्काका अनुसार मंगलबार अपराह्न साढे ३ बजेदेखि उनी परिवारको सम्पर्कमा छैनन् । ‘बिहानतिर छिमेकमा गएका बा त्यसपछि फर्किएका छैनन्,’ उनले भने, ‘हामीले त्यसको दुई दिनपछि गत शनिबार झुल्खेतमा रहेको प्रहरी चौकीमा पनि खबर गरेका छौ । तर त्यहाँबाट केही जानकारी आएको छैन ।’
साथै उनले नजिकै रहेको चुन खोला छेउमा उनले लगाउने गरेको चप्पल भेटिएको पनि बताएका छन् । ‘हामीले खोला छेउछेउदेखि खोज्दै सानीभेरी नदीसम्म पुगेका छौ । अहिलेसम्म्म सिम्ली पुगेका छौं । तर कुनै अत्तोपत्तो छैन ।’
साथै भिमबहादुरका अर्का छोरा हरि खड्काले गत चैतमा आफ्नी आमा (भिमबहादुरकी श्रीमती) लाई छिमेककै एकजना छोरी नाता लाग्ने महिलाले जंगलमा लगेर कुटपिट गरकोले यही घटनासँग सम्बन्धित हुनसक्ने अनुमान गरेका छन् । उक्त घटनाका आरोपीलाई भने अदालतबाट धरौटीमा रिहा गरिसकेको पनि हरिले बताए ।
