तिब्बतबाट च्याङ्ग्रा नआउँदा हिमाली जिल्ला डोल्पा, मुगु, हुम्ला, डोल्पा र मुगुमा दसैंका बेला मासु अभाव देखिएको स्थानीय व्यवसायीहरूले बताएका छन् ।
सुर्खेत — तिब्बतबाट आयात नहुँदा यो दसैंमा हिमाली जिल्लामै च्याङ्ग्राको अभाव देखिएको छ । जसका कारण प्रदेश राजधानी सुर्खेत, नेपालगन्जलगायत ठाउँमा कम च्याङ्ग्रा भित्रिएका छन् ।
कर्णालीमा ५ वर्षयता तिब्बती च्याङ्ग्रा जिल्लामा आउन छाडेका छन् । ‘चिनियाँ बजारबाट च्याङ्ग्रा आउन छाडे, हिमालतिर अलिअलि उत्पादन भएको उतै खरिद भयो,’ सुर्खेतको वीरेन्द्रनगरमा झन्डै ५० च्याङ्ग्रा ल्याएर बिक्रीका लागि आएका जुम्लाको तातोपानी गाउँपालिकाका भीमचन्द्र बुढाले भने, ‘यता माग धेरै छ, दुई महिनादेखि खोजे पनि पोहरजस्तो च्याङ्ग्रा पाइएन ।’ झन्डै १० वर्षदेखि भेडा र च्याङ्ग्राको बिक्री गरिरहेका उनले गत वर्ष ५ सयभन्दा बढी भेडा र च्याङ्ग्रा सुर्खेत ल्याएर बिक्री गरेका थिए ।
सुर्खेतमै बसेर भेडा-च्याङ्ग्राको व्यापार गर्ने मुगुका व्यवसायी तिलक रावतले तिब्बतबाट च्याङ्ग्रा नआउँदा हिमाली जिल्ला डोल्पा, मुगु, हुम्ला, डोल्पा र मुगुमा पनि मासु अभावको समस्या चुलिएको बताए । उनका अनुसार ५ वर्षअघिसम्म दसैंको समयमा कम्तीमा ५ हजार च्याङ्ग्रा भित्रन्थे । ‘हिमाली जिल्लामा खसीबोका पालन खासै हुँदैन, त्यसैले च्याङ्ग्राको माग धान्नै सकिएको छैन,’ उनले भने, ‘खसीबोकाभन्दा च्याङ्ग्राको मासु मिठो र स्वादिलो हुन्छ, मूल्य पनि सस्तो हुने भएकाले अहिले धेरैले च्याङ्ग्राको मासु खोज्छन्, तर यसपालि गाउँगाउँ घुम्दा पनि पाइएन ।’
गत वर्ष झन्डै ३ सय च्याङ्ग्रा बिक्री गरेका उनले यो वर्ष ६० वटा च्याङ्ग्रा र भेडा मात्र सुर्खेत ल्याएर बिक्री गरिरहेका छन् । उनका अनुसार जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार र जिउँदो भेडा प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
यो वर्ष केही व्यापारी च्याङ्ग्रा किन्न तिब्बत गए पनि महँगीका कारण रित्तै फर्किएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार कोरोना महामारीअघिसम्म १० देखि १५ हजार रुपैयाँमा पाइने च्याङ्ग्राको मूल्य अहिले तिब्बती बजारमा २५ हजारभन्दा माथि छ ।
मुगु–तिब्बत सीमा नाक्चेनाग्ला नाका हुँदै च्याङ्ग्रा मुगु भित्रन्थे । च्याङ्ग्रा नपाइएपछि अहिले ग्रामीण क्षेत्र र बाजुरा, जुम्लालगायत ठाउँबाट ल्याइएका खसीबोका २० देखि २५ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको मुगुका व्यावसायी आनन्द शाहीले बताए छायानाथरारा नगरपालिकाका कृषि विकास अधिकृत दीपेन्द्र चौधरीले बताए । उनका अनुसार सदरमुकाममा खसीको मासु प्रतिकिलो ६ सय ५० देखि १ हजार रुपैयाँ र कुखुराको मासु प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।
हिमाली जिल्ला हुम्लामा पनि तिब्बतमै च्याङ्ग्राको मूल्य बढी भएकाले हुम्लामा पर्याप्त च्याङ्ग्रा भित्रन नसकेको व्यवसायी विजय लामाले बताए । उनका अनुसार स्थानीय बजारमा २० हजारदेखि २५ हजार रुपैयाँमा जिल्लामै उत्पादित च्याङ्ग्रा खरिदबिक्री भइरहेको छ ।
च्याङ्ग्रा व्यापारी ग्वामसिंह भण्डारीका अनुसार कोरोना महामारीअघि हिल्सा नाका हुँदै जिल्लामा च्याङ्ग्रा भित्रिने गरेका थिए । ‘अहिले चाइनामै च्याङ्ग्राको मूल्य बढेको छ, त्यहाँ २० हजार रुपैयाॅ घटी च्याङ्ग्रा पाइँदैन, त्यसैले धेरै च्याङ्ग्रा ल्याउन समस्या भयो,’ उनले भने, ‘यता ल्याएपछि घाटामा बेच्नुपर्ने भएपछि च्याङ्ग्रा नै ल्याइएन ।’ उनका अनुसार हिमाली जिल्लाहरुमा च्याङ्ग्राको बलि दिने चलन छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीका हिमाली जिल्लामा झन्डै २ लाख ८ हजार च्याङ्ग्रा पालिएका छन् ।
