जिल्लाभर ८ सय ५० जना प्रहरी जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगर — सुर्खेतमा चाडपर्वलाई लक्षित गर्दै ८ सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दसैं, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।
योजनाअन्तर्गत जिल्लाभर ८ सय ५० जना प्रहरी जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुरक्षा जाँचलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा २८३ जना प्रहरीलाई पिकेट ड्युटीमा खटाइनेछ । संयुक्त, नियमित तथा आकस्मिक जाँचका लागि ७१ जना प्रहरी खटिनेछन् ।
२७ जना प्रहरीलाई कमाण्ड पोष्ट तथा जिल्ला रिजर्भमा राखिनेछ । मोबाइल गस्तीका लागि ५० जनाको प्रहरी जनशक्ति खटिनेछन् ।
मोटरसाइकल गस्ती र आकस्मिक कारबाही (स्ट्राइकिङ) का लागि ६४ जना प्रहरी परिचालन गरिने जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार सूचना संकलनलाई प्राथमिकता दिँदै सादा पोसाकमा ११ जना प्रहरी परिचालन गरिनेछ ।
यस्तै यात्रुहरूलाई सहयोग पुर्याउन २७ जना प्रहरी यात्रु सहायता कक्षमा परिचालन गरिएको छ । महत्त्वपूर्ण प्रतिष्ठान, सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरू र आर्थिक कारोबार हुने स्थानहरूमा गस्ती गर्न तथा झैझगडा, जुवातास, चोरी, लुटपाटजस्ता आपराधिक गतिविधि नियन्त्रणको लागि १ सय ४४ जना प्रहरी खटिनेछन् ।
बजार अनुगमन, मातहत अनुगमन तथा आकस्मिक सभा, जुलुस, धर्ना लगायतका कार्यक्रममा तत्काल परिचालन हुन ५५ जना प्रहरीलाई खटाउने योजना बनाइएको उनले बताए । कार्यालय सुरक्षाका लागि १ सय १६ जना प्रहरी जनशक्ति खटाइएको छ ।
चाडपर्वका बेलाका सम्भावित आपराधिक गतिविधि, झैझगडा,चोरी, लुटपाट तथा सवारी दुर्घटना न्यूनीकरण गरी आम नागरिकलाई सुरक्षित महसुस गराउने उद्देश्यले सुरक्षा योजना ल्याइएको जिल्ला प्रहरी प्रमुख सुधिरराज शाहीले जानकारी दिए ।
