आगजनीका कारण प्रदेशसभाका सबैजसो कागजात, फर्निचर, कम्प्युटर, विद्युतीय उपकरणलगायत सामग्रीहरु नष्ट भएका छन् ।
सुर्खेत — कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन गत साउन २१ गते अन्त्य भयो । कर्णाली प्रदेश सरकारले सधैंझै दसैं–तिहारपछि अर्को अधिवेशन बोलाउने तयारी गरेको थियो ।
तर गत भदौ २४ गते जेन–जीले नेतृत्व गरेको आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयमा आगजनी र तोडफोड भयो । जसका कारण अहिले नियमित र प्रशासनिक काममा मात्र सीमित भएको छ ।
आगजनीका कारण प्रदेशसभाका सबैजसो कागजात, फर्निचर, कम्प्युटर, विद्युतीय उपकरणलगायत सामग्रीहरु नष्ट भएका छन् । ‘संसद् अधिवेशन अहिले चलेको छैन, अहिले केही बाँकी भवनहरुबाट नियमित प्रशासनिक काममात्र भइरहेको छ,’ प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले भने, ‘ठूलो क्षति भएकाले तत्काल यही संरचनामा संसद् बैठक बोलाउन समस्या छ ।’
उनले ६ महिनाभित्र संसद् अधिवेशन सुचारु गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले माघ २१ गतेभित्र जसरी पनि अधिवेशन आव्हान हुनुपर्ने बताए । उनका अनुसार अहिले क्षति भएका भवन, कोठाहरु र सामग्रीको प्राविधिक मूल्यांकन र सरसफाइको काम भइरहेको छ ।
कर्णाली प्रदेशसभाका २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुईवटा विषयगत समितिका भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् । जापान सरकारको सहयोगमा २०५२ सालमा झण्डै ५ करोड रुपैयाँ सहयोगमा निर्माण भएको हो । तत्कालीन मध्यपश्चिम शैक्षिक तालिम केन्द्रका लागि निर्माण गरिएका भवनहरु २०७४ फागुनमा प्रदेशसभालाई स्थानान्तरण गरिएको थियो ।
यसै भवनबाट बैठक बसी कर्णाली प्रदेशसभाले पहिलोपल्ट २०७४ फागुन १२ गते प्रदेशसभाको नामाकरण गरेको थियो । प्रदेशसभा भवन परम्परागत शैलीको वास्तुकलाको नमुना भएको नागरिक अगुवा दुर्गाप्रसाद सापकोटाले बताए । ‘सबै घरहरुमा ठूला ठूला ढुंगाको गारो लगाइएको छ,’ उनले भने, ‘सबै भवनहरुका कोठाहरुमा सूर्यको प्रकाश पर्छ भने भवनहरु दुईतलेसम्मका मात्र छन् ।’
प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्राविधिकको टोलीले क्षतिको विवरण संकलन गरिरहेको जानकारी दिए । ‘कति भवन मर्मत गर्नुपर्ने वा कति पुनर्निर्माण हुनुपर्ने भन्ने एकीन भएपछि प्रदेश सरकारबाट त्यहीअनुसार बजेट विनियोजन होला,’ उनले भने, ‘जतिसक्दो छिटो आवश्यक संरचना निर्माण गरी अधिवेशनको तयारी गर्नेगरि हाम्रो काम भइरहेको छ ।’
