१० वटै जिल्लामा कमान्ड सेन्टर स्थापना गरी ५ सय ८५ वटा मोबाइल, पेट्रोलिङ, ‘क्विक रेस्पन्सीविलिटी टिम (क्यूआरटी)’ मोटरसाइकललगायत गस्ती परिचालन गरिएको उनले जानकारी दिए ।
सुर्खेत — कर्णालीका सीमा नाका र संवेदनशील क्षेत्रमा कुकुर परिचालन गरी चेकजाँच गर्ने र ड्रोनबाट निगरानी गर्ने योजना अघि सारिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना अघि सार्दै त्यसका लागि ३ हजार ९ सय ८ जना सुरक्षाकर्मी परिचालन गर्ने कार्ययोजना बनाएको हो ।
जेन–जीले नेतृत्व गरेको आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीको खोजतलास र विभिन्न प्रहरी इकाईबाट लुटिएका हातहतियार तथा गोलीगठ्ठा बरामदलाई पनि प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
दसैं–तिहार तथा छठ पर्वमा बढ्दो सुरक्षा जोखिमलाई ख्याल गर्दै सीसीटिभी, राडार गणलगायत उपकरणमार्फत सुरक्षा निगरानी बढाउन थालिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठले बताए । उनका अनुसार प्रहरीले यात्रु सुरक्षाका लागि ४३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ भने ४ सय १४ संवेदनशील स्थानमा प्रहरी टोली खटाइएको छ ।
प्रदेश प्रहरीले बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राखी सबै जिल्लाका नाकामा प्रहरी परिचालन गरिएको जनाएको छ । चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन सबै वडा र टोलमा प्रहरी परिचालन गर्न लागिएको डीआईजी श्रेष्ठले बताए ।
‘ग्रामीण क्षेत्रमा गस्ती, हाइवे गस्ती, पैदल गस्तीलगायतलाई निरन्तरता दिइनेछ,’ उनले भने, ‘प्रदेश भित्रने मुख्य नाकामा कुकुरसहित विशेष टोली परिचालन हुनेछ ।’ बैंक तथा वित्तीय संस्थाहरू, धेरै भीडभाड हुने क्षेत्रहरूमा २४ सैं घण्टा निगरानी गर्ने प्रदेश प्रहरीको योजना छ । चाडपर्वमा जुवातास, डाइस (लङगुरबुर्जा), कौडा खेल्न, पटकालगायत बिस्फोटक पदार्थको बिक्रीवितरण तथा प्रयोग रोक्नेगरि साधा पोशाकमा प्रहरीहरु परिचालन हुनेछन् ।
