अहिले प्रहरीले फरार रहेका कैदीको खोजी कार्य तीव्र पारेको जनाएको छ । पहिलो चरणमा सहजै रुपमा फर्किन आग्रह गरेको जुम्ला प्रहरी पछिल्लो समयमा निकै कडा रुपमा प्रस्तुत भएको हो ।
जुम्ला — भदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ जना कैदीमध्ये ११ जना अझै फर्किएका छैनन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार ३० जना कैदी फर्किइसकेका छन् । फर्किएकामध्ये ५ जना कैदी प्रहरीले २४ गते राति नै नियन्त्रणमा लिइसकेको थियो ।
अहिले प्रहरीले फरार रहेका कैदीको खोजी कार्य तीव्र पारेको जनाएको छ । पहिलो चरणमा सहजै रुपमा फर्किन आग्रह गरेको जुम्ला प्रहरी पछिल्लो समयमा निकै कडा रुपमा प्रस्तुत भएको हो ।
डीएसपी रविनबाबु रेग्मीले हरेक चौकीमा फरार कैदीको हुलिया पठाइसकेको बताए । उनले भने, ‘ भागेका कैदीहरु फर्किन्छन् कि भन्ने आशामा बसेका थियौं । यदि समयमै फर्किएनन् भने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर ल्याउनुपर्ने देखिन्छ ।’
उनका अनुसार लामो समय कैद सजाय तोकिएका सबैजसो कैदीबन्दी फर्किसकेका छन् । तर कैद भुक्तान गर्न कम समय रहेका र अदालतले नै कम सजाय सुनाइएका कैदीबन्दी फर्किन बाँकी छन् । अहिले कैदीबन्दी फर्काइदिन वडा कार्यालय, सम्बन्धित कैदीका परिवार र स्थानीय सरकारलाई आग्रह गरिएको छ ।
कैदीबन्दीले कारागारमा रहेका नाइके र प्रहरीलाई चिर्पट प्रहार गरेर ढोका फोडेर भागेका थिए ।
