संघीय सरकारी कार्यालयतर्फ १ पूर्ण, २ आंशिक र सामान्य ३ गरी ६ कार्यालयमा क्षति पुगेको छ । प्रादेशिक कार्यालयतर्फ ४ पूर्ण र ३ मा आंशिक गरी ७ कार्यालयमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक छ ।
वीरेन्द्रनगर — गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनको क्रममा कर्णालीका ५५ भौतिक संरचनामा क्षति पुगेको छ । प्रदेशका सरकारी र भौतिक संरचनामा ठूलो क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आगजनी, तोडफोड र चोरीको कारण भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
संघीय सरकारी कार्यालयतर्फ १ पूर्ण, २ आंशिक र सामान्य ३ गरी ६ कार्यालयमा क्षति पुगेको छ । प्रादेशिक कार्यालयतर्फ ४ पूर्ण र ३ मा आंशिक गरी ७ कार्यालयमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक छ । यस्तै जिल्ला तथा स्थानीय तहका १८ भौतिक संरचनामा क्षति पुगेको छ । ७ कार्यालय पूर्ण रुपमा नष्ट भए भने १० मा आंशिक क्षति पुग्यो । १ मा सामान्य क्षति पुगेको छ ।
यस्तै ९ निजी भौतिक संरचनामा क्षति भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले जानकारी दिए । उनका उनुसार ४ निजी भौतिक संरचनामा पूर्ण रुपले क्षति भयो भने ५ मा आंशिक क्षति भएको छ । १ पूर्ण र २ आंशिक गरि ३ अन्य संघसंस्थाको भौतिक संरचनामा क्षति भएको उनले बताए । प्रवक्ता खनालका अनुसार विभिन्न दलका १२ पार्टी कार्यालयका क्षति भएको छ । ७ कार्यालयमा पूर्ण क्षति भयो भने ३ मा आंशिक र २ मा सामान्य क्षति भएको छ ।
यस्तै सवारी साधनमा पनि ठूलो क्षति पुगेको छ । ८० सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । ४० सरकारी र ६ व्यक्तिगत गरी ४६ दुई पांग्रे सवारीसाधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । यस्तै तीन वा सो भन्दा माथिका ३२ सरकारी र २ व्यक्तिगत गरी ३४ सवारीसाधनमा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा बढी क्षति सुर्खेतमा भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रारम्भिक रिपोर्ट अनुसार जिल्लास्थित संघीय सरकारअन्तर्गतका ६ कार्यालय, प्रदेश सरकारअन्तर्गतका ५, स्थानीय निकायका ११, ७ व्यक्तिगत घर र ५ पार्टी कार्यालयमा क्षति पुगेको छ ।
सबै कार्यालयबाट २४ दुई पांग्रे र २२ चार पांग्रे गरी ४६ सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगजनीको क्षतिबारे मुचुल्का गरिरहेको जिल्ला प्रहरी प्रमुख सुधिरराज शाहीले जानकारी दिए । उनका अनुसार प्रहरी मुचुल्कापछि क्षतिको यकिन विवरण आउने छ ।
सबैभन्दा बढी क्षति कर्णाली प्रदेशसभामा भएको छ । यस्तै नापी कार्यालयमा पनि धेरै क्षति भएको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगजनीका कारण १ अर्बभन्दा बढीको क्षति भएको बताए ।
प्रारम्भिक तथ्यांकअनुसार तोडफोड र आगजनीबाट कर्णाली प्रदेशसभामा मात्रै ३ करोड ९४ लाख ७३ हजार रूपैयाँ बराबरको क्षति भएको छ । इलेक्ट्रोनिक्स सामग्रीतर्फ सबैभन्दा धेरै २ करोड २० लाख २० हजार रूपैयाँ बराबरको क्षति भएको प्रदेशसभा सचिवालय जिन्सी शाखामा कार्यरत नायव सुब्बा कपिलदेव भण्डारीले जानकारी दिए ।
त्यस्तै भवनतर्फ १ करोड ६ लाख ५७ हजार, फर्निचरका सामग्रीतर्फ ५३ लाख ९८ हजार, सवारी साधनतर्फ ४ लाख २८ हजार र अन्यतर्फ ९ लाख ६७ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
प्रदेशसभा बैठक कक्ष पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेको सचिवालयले जनाएको छ । बैठक भवनमा रहेका दर्शक दीर्घा, रेकर्ड तथा प्रसारण कक्षसमेत नष्ट भएका छन् । जसले गर्दा पुनर्निर्माण नगरेसम्म बैठक सञ्चालन गर्न सकिने अवस्था छैन ।
क्षतिको कारण संरचाहरुमा क्षति पुगेपछि कार्यालको सेवा अस्तव्यवस्त भएको छ । कार्यालयले सेवालाई निरन्तरता दिन सकिरहेका छैनन् । क्षतिको विवरण संकलन र सरसफाइको कामबाहेक अघि बढ्न सकेको छैन । केही कार्यालयले भने वैकल्पिक उपाय अपनाएर सेवालाई निरन्तरता दिन थालेका छन् ।
