बिहीबारको हिमा गाउँ कार्यपालिकाको बैठकले कर्मचारीको तीन दिन र जनप्रतिनिधिको ६ दिनको तलब भत्ता राष्ट्रिय पुनर्निर्माण कोषमा पठाउने निर्णय गरेको हो ।
जुम्ला — जुम्लाको हिमा गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिले आफ्नो तलब भत्ताबापत आउने रकम केन्द्र सरकारको राष्ट्रिय पुन:निर्माण कोषमा पठाउने भएका छन् ।
बिहीबारको हिमा गाउँ कार्यपालिकाको बैठकले कर्मचारीको तीन दिन र जनप्रतिनिधिको ६ दिनको तलब भत्ता राष्ट्रिय पुनर्निर्माण कोषमा पठाउने निर्णय गरेको हो ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विज्ञप्ति निकालेर ११ लाख ४३ हजार २ सय ९७ रुपैयाँ पुन निर्माण कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले कर्मचारी र जनप्रतिनिधिको तलब भत्ताबापतको यो रकम कोषमा जम्मा गर्न लागिएको अध्यक्ष शाहीको भनाइ छ । उनले भने, ‘यतिबेला देश जलेको अवस्था छ । सबै मिलेर हराभरा र सुन्दर देश बनाउने अभियानमा हिमा पनि तयार रहेको सन्देश फैलाउन चाहन्छौं ।’
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही विज्ञप्ति निकाल्दै राष्ट्र निर्माणको महाभियानमा हिमा गाउँपालिका पनि समाहित भइसकेको जनाए । उनले भने,‘देश अहिले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले रित्तो बनेको छ । अब सबै मिलेर पहिलेकै अवस्थामा फर्काउनुपर्ने अवस्था छ । त्यही अवस्था निर्माणका लागि जनप्रतिनिधि र कर्मचारीले तलब भत्ताको रकम पठाइरहेका छौं ।’
उनले निष्पक्षता, पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहप्रति अटल रहँदै पुनःनिर्माण तथा विकासको यात्रामा सक्रियतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 'यो प्रक्रियामा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुले सेवक नेतृत्वको भावनालाई आत्मसात गरी नागरिकलाई कुनै पनि प्रकारको असुविधा वा अप्ठेरो नहुने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्दै आउनुपर्ने देखिन्छ,' उनले भने ।
हिमा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरुप्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
