गगने खोलामा पुनः पहिरो, डोजरले पन्छाउँदै

कालिकोटमा स्काभेटर र जेसीभीले पहिरो पन्छाउन प्रयास गर्दा पनि लगातार पहिरो झर्दा सडक खुलाउन चुनौतीहरू थपिएका छन्।

आश्विन १, २०८२

तुलाराम पाण्डे

Another landslide in Gagane River, dodged by dozers

What you should know

कालिकोट — कालिकोटको शुभकालिका–१ गगने खोलामा पुनः पहिरो झरेर कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको छ ।

पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुईवटा मेसिन लगाइए पनि लगातार पहिरो झर्दै रहेकाले काम गर्न कठिन भएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । ‘तल दुईवटा मेसिनले फाल्दै छन्, तर माथिबाट झरिरहेको छ,’ उनले भने ।

वर्षा हुनेबित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिने गरेको छ । गएरातिको वर्षाले रातिदेखि झरेको पहिरो बिहान पन्छाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर सुनारले जानकारी दिए । ‘हिजो बेलुकीदेखिको वर्षाले बिहान पहिरो गएको हो,’ उनले भने, ‘पहिरो पन्छाउन जेसीभी मेसिन लगाइए पनि सडक खोल्न सकिएको छैन ।’

सडक अवरुद्ध भएपछि सुर्खेत जाने गाडी ठाउँ–ठाउँमा रोकिएका छन् । उनका अनुसार असारयता २८ पटक गगनेमै पहिरो झरेर ३७ दिन सडक अवरुद्ध भएको छ ।

‘पहिरोले सडक अवरुद्ध भएपछि भोकै बाटोमा बस्नुपरेको छ,’ सुर्खेत जान हिँडेकी शिक्षक, विजोसी मावि चौकीकी प्रधानाध्यापक पवित्रा शाहीले भनिन् । ‘कर्णाली राजमार्गले धेरै दुःख दियो । सुर्खेत टिचर्स ट्रेनिङमा जान लागेको, पुगिएला जस्तो छैन ।’

यहाँको पहिरोले कर्णालीबासीलाई धेरै सास्ती दिएकोले अछामको भानाकोट हुँदै खुलालु जोड्ने सडक निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

‘दिनहुँ झर्ने पहिरोले धेरै दुःख पाइयो,’ नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले भने, ‘वैकल्पिक मार्गका रूपमा दैलेखको राकम पुल तरेर अछामको चिल्ताडा–भानाकोट हुँदै खुलालु जोड्ने सडक खोल्नुपर्छ । पल्लो छालबाट सडक ल्याउन अछामको विनायक पञ्चदेवल नगरपालिका र नरहरिनाथ गाउँपालिकाले सहकार्य गरेर सरकारलाई दबाब दिनुपर्छ ।’

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully