डोल्पामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया

भाद्र ३०, २०८२

रामचन्द्र न्यौपाने

डोल्पा — डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ। जिल्ला अस्पताल डोल्पामा पहिलो पटक छात्रवृत्ति करारमा आएका एमडीजीपी डाक्टर विदुर तिवारीको नेतृत्वमा सफल शल्यक्रिया सम्पन्न भएको हो।

अकस्मात् पेट दुख्ने समस्याले अस्पताल पुगेका त्रिपुरासुन्दरी नगरपालिका–४ राङ बस्ने १२ वर्षीय किशोर बुढाको शल्यक्रिया गरिएको डाक्टर अखण्ड उपाध्यायले बताए।

डोल्पा जस्तो दुर्गम जिल्लामा पहिलो पटक सीमित स्रोत–साधन भएको अस्पतालमा सफल शल्यक्रिया गर्नु सुखद भएको उनको भनाइ छ।

डाक्टर तिवारीको नेतृत्वमा डा. उपाध्याय, स्क्रब नर्स निर्मला बी.के., एनेस्थेसिया सहायक रञ्जित शाह, सहयोगी नर्स आस्था बुढा र सहयोगी डाक्टर डाक्टर नवीन शाहीसहितको टोली शल्यक्रियामा सहभागी थियो।

यस्तै प्रकारको शल्यक्रिया गर्न नेपालगन्ज, सुर्खेतलगायतका सहरमा पुग्नुपरेमा एक लाखभन्दा धेरै खर्च लाग्ने भए पनि जिल्लामै शल्यक्रिया हुँदा सबै रकम जोगिएको भन्दै बुवा धनप्रसाद बुढाले खुसी व्यक्त गरे।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully