वीरेन्द्रनगर — सुर्खेतबाट दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २५ गते बाँकेको नेपालगञ्जस्थित हिरमुनियाको बालसुधार गृहबाट फरार कर्तव्यज्यान मुद्दाका १७ वर्षका मनिष विष्टलाई वीरेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का उनलाई सुर्खेतको प्रहरी टोलीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
यस्तै काठमाडौं डिल्लिबजारको कारागारबाट भागेका कर्तव्यज्यान मुद्दाका ३१ वर्षीय गणेश नेपालीलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढाथापाले जानकारी दिए । वीरेन्द्रनगर–९ बस्ने उनलाई वीरेन्द्रनगर–६ बाट नियन्त्रणमा लिइएको उनले बताए ।
