कर्णाली प्रदेशका आठ जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरिए पनि हुम्ला र मुगुमा अवस्था सामान्य रह्यो ।
भदौ २४ को प्रदर्शनका कारण शान्ति सुरक्षामा खलल पुगेको भन्दै कर्णाली प्रदेशका आठ जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरिए पनि हुम्ला र मुगुमा अवस्था सामान्य रह्यो । दुवै जिल्लाका स्थानीय प्रशासनले न निषेधाज्ञा जारी गरे न कर्फ्यु नै ।
प्रदर्शनका कारण शान्ति सुरक्षामा असामान्य स्थिति सिर्जना भएको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुर्खेत, जाजरकोट, डोल्पा, जुम्ला र सल्यानमा कर्फ्यु जारी गरिएको थियो भने कालीकोट, रुकुम पश्चिम र दैलेखमा निषेधाज्ञा लगाइएको थियो । सुर्खेत, रुकुम पश्चिम र सल्यानमा शुक्रबार पनि निषेधाज्ञा जारी छ ।
हुम्लामा कुनै आन्दोलन, हिंसात्मक र अवाञ्छित गतिविधि नभएकाले सुरक्षा अवस्था शान्तिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । ‘देशभरिका आन्दोलनको प्रभाव यहँ खासै परेन,’ उनले भने, ‘त्यसैले कुनै आदेश जारी गर्नुपर्ने आवश्यकै भएन ।’
शान्तिपूर्ण आन्दोलन भए पनि तोडफोड र अप्रिय घटना हुन नपाएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए । ‘सुरक्षा निकायको उच्च सतर्कताले शान्ति सुरक्षामा असर पुग्ने कुनै गतिविधि हुन पाएन,’ उनले भने, ‘त्यसैले यातायातका साधन र स्थानीयको आउजाउमा कुनै समस्या भएन ।’
