आगलागी र तोडफोडका कारण प्रदेशसभा सचिवालय,अख्तियार,नापी कार्यालय,उच्च सरकारी वकिल कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय,भेरी बबई बहुउद्देश्यीय आयोजनालगायत कार्यालयमा क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुर्खेत — जेन–जीले अगुवाई गरेको आन्दोलनपछि कर्णालीमा ३८ सरकारी संरचनामा क्षति पुगेको छ । प्रदर्शनकारी आगलागी र तोडफोड गरेका कारण १९ संरचनामा पूर्णरुपमा,१४ वटामा आंशिक र ५ वटामा सामान्य क्षति पुगेको छ ।
प्रदर्शनकारीले वीरेन्द्रनगर नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका तोडफोड गरेका थिए भने आगजनीको प्रयास भएको थियो । वीरेन्द्रनगर नगरपालिकास्थित १,२,३,६,७,८,९ र ११ नम्बर वडा कार्यालयमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । कार्यालयमा रहेको सबै कागजात,कम्प्युटर,फर्निचरलगायत सामान नष्ट भएकाले तत्काल सेवा प्रवाहमा समस्या भएको वीरेन्द्रनगर—६ का वडाध्यक्ष जनकबहादुर रावलले बताए । ‘सबै संरचना नष्ट गरिएपछि कसरी सेवा प्रवाह गर्ने भन्ने अन्योल भयो,’उनले भने,‘तत्काल टेन्ट राखेर बाहेक सेवा दिनुको विकल्प भएन ।’
