बेपत्ता वडाध्यक्षको कोट कर्णाली नदी किनारमा भेटियो

रास्कोट-५ लामासिनस्थित ससुराली घर जाने भनेर हिँडेका बराल बुधबारदेखि बेपत्ता भएका हुन् ।

भाद्र २१, २०८२

तुलाराम पाण्डे

The coat of the missing ward chief was found on the banks of the Karnali river

जुम्ला — बुधबार दिउँसदेखि बेपत्ता रास्कोट नगरपालिका-८ फुकोटका वडाध्यक्ष मनिराज बरालको कोट फेला परेको छ । रास्कोट-७ नडीस्थित कर्णाली नदीको किनारमा बाहुला काटिएको अवस्थामा उनको कोट भेटिएको छ ।

आफन्तले कोट वडाध्यक्ष बरालकै भएको बताएका छन् । घरबाट लगाएको कोट नै भेटिएको आफन्त विष्णु बरालले बताए । 'कोट त उनकै हो,' उनले भने, 'वडा र घर बनाउने कामको अलि तनाव थियो, किनारमा कोट भेटिँदा नदीमा कुनै दुर्घटना भयो कि भन्ने शंका छ ।'

रास्कोट-५ लामासिनस्थित ससुराली घर जाने भनेर हिँडेका बराल बुधबारदेखि बेपत्ता भएका हुन् । उनको वडाबाट रास्कोट नगरपालिका पुग्न आधा घण्टा पैदल लाग्छ भने नदी किनार पुग्न पैदल १ घण्टाभन्दा बढी ओरालो झर्नुपर्छ । 

काम सकेर ससुराली घर जान भनेर हिँडेका वडाध्यक्ष बराल बेपत्ता भएको रास्कोट नगरप्रमुख धर्मराज शाहीले बताए ।

रास्कोट नगरका सबै वडा र हिँड्ने बाटोमा नगर प्रहरी र स्थानीयले खोजी गर्दा उनी नभेटिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । नदी किनारमा उनले लगाएको कोटको बाहुला काटिएको अवस्थामा भेटेको भनेर प्रहरीलाई खबर आएको छ,' उनले भने, 'प्रहरीले खोजी र अनुसन्धान दुवै गरिरहेको छ ।' 

रास्कोट नगरपालिकाका अनुसार वडाध्यक्ष बराल चार महिनादेखि मानसिक बिरामको औषधि सेवन गरिरहेका थिए । उनी नगरपालिकाको आरसीपी बजारमा पक्की घर पनि बनाउँदै थिए । उनी २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीतर्फबाट निर्वाचित हुन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully