गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

पहिरोले मंगलबार बेलुकी अवरुद्ध सडक बुधबार दिउँसो खुले पनि रातिको वर्षाले पहिरो झरेपछि पुन: अवरुद्ध भएको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताए।

भाद्र १९, २०८२

तुलाराम पाण्डे

Karnali highway blocked again due to landslides in Gagane river

कालीकोट — कालीकोटको शुभकालिका-१ गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। वर्षा हुने बित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिएको हो।

पहिरोले मंगलबार बेलुकी अवरुद्ध सडक बुधबार दिउँसो खुले पनि रातिको वर्षाले पहिरो झरेपछि पुन: अवरुद्ध भएको कालीकोटका डीएसपी टेकबहादुर रावतले बताए। 'फेरि गगनेमै पहिरो गयो,' उनले भने, 'यहाँको पहिरोले सारै सतायो।' उनका अनुसार असार यता २७ पटक गगनेमै पहिरो झरेर ३४ दिन सडक अवरुद्ध भइसकेको छ।

उनले पानी रोकिएपछि दिउँसोसम्म सडक खुल्ने बताए। यहाँको पहिरोले कर्णाली बासीलाई निकै सास्ती दिएकोले अछामको भानाकोट हुँदै खुलालु जोड्ने सडक निर्माण गर्नु पर्ने नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताउँछन्।

'दिनहुँ झर्ने पहिरोले निकै दुःख पाइयो,' उनले भने, 'वैकल्पिक मार्गको रूपमा दैलेखको राकम पुल तरेर अछामको चिल्ताडा भानाकोट हुँदै खुलालु जोड्ने सडक खोल्नु पर्छ।' उनले पल्लो छलबाट सडक ल्याउन अछामको विनायक पञ्चदेवल नगरपालिका र नरहरिनाथ गाउँ पालिकाले सहकार्य गरेर सरकारलाई दबाब दिनुपर्ने सुझाव दिए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully