सुर्खेत-जुम्ला सडकखण्ड पहिरो पन्छाएको पाँच घण्टामै पुन: अवरुद्ध 

डिभिजन सडक कार्यालय जुम्लाले पहिरोले सडक पुनः अवरुद्ध भएको जनाएको छ । पाँच घण्टामा रोकिएका सबै गाडीहरु गइसकेका छन् । तर फेरि पहिरो गएकोले सवारी आवागमनमा समस्या देखिएको छ ।

भाद्र १७, २०८२

डीबी बुढा

The Surkhet-Jumla road section was blocked again within five hours after the landslide cleared

जुम्ला — कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्डस्थित गगनेखोलामा पुनः पहिरो गएको छ । पहिरो पन्छाएको पाँच घण्टामै पहिरो आएर सडक यातायात ठप्प भएको हो । 

डिभिजन सडक कार्यालय जुम्लाले पहिरोले सडक पुनः अवरुद्ध भएको जनाएको छ । पाँच घण्टामा रोकिएका सबै गाडीहरु गइसकेका छन् । तर फेरि पहिरो गएकोले सवारी आवागमनमा समस्या देखिएको छ । 

अहिले गगनेखोला क्षेत्रमा भीषण वर्षा भइरहेको छ । डिभिजन प्रमुख दीपेन्द्र चौधरीले सडकमा लेदोसहितको पहिरो आइरहेको बताए । 'तत्काल पन्छाउन सकिने अवस्था छैन । तर बुधबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु हुने छ,' उनले भने । चार दिनदेखि पहिरो पन्छाउन नसकिएका कारण स्याउ बोकेका २३ वटा ट्रक रोकिएका थिए । 

वर्षाको समयमा सावधानी अपनाएर मात्र यात्रा गर्न र रात्रि समयको यात्रा गर्दैनगर्न समेत सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । 

कार्यालय प्रमुख चौधरीले भने, ‘वर्षात् अझै जारी छ । कर्णाली राजमार्गमा पहिरोको जोखिम कायमै छ । त्यही भएर सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully