अघिल्लो वर्ष प्रतिकिलो ३५ रुपैयाँ पाएका स्याउ किसानले यो वर्ष बारीबाटै प्रतिकिलो ५५ रुपैयाँमा बेचिरहेका छन्।
What you should know
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका–४ का रुद्री बुढा स्याउ किन्न जिल्ला बाहिरका व्यापारी घरमै पुगेपछि दङ्ग छन् । करिब दुई सय बोट स्याउ रोपेका बुढाले सातामा डेढ लाख आम्दानी गरेका छन् । सिजनको सुरुआतमै राम्रो भाउमा सबै स्याउ बिक्री भएपछि उनले खाली जग्गामा पनि रोप्ने योजना बनाइरहेका छन् ।
‘यसपालि बगैँचामै ५५ रुपैयाँ किलो बेचियो, पोहोर ३५ थियो,’ उनले भने, ‘व्यापारीलाई पनि झन्झटै छ, ठाउँ-ठाउँमा गाडी फेरेर लैजानुपर्छ । गाउँसम्म राम्रो बाटो भए अझै मूल्य पाउने थियौँ ।’ सडकको अवस्था राम्रो नभएकै कारण व्यापारीले अझै मूल्य हाल्न धक मान्ने गरेको उनले बताए।
त्रिपुरासुन्दरी–४ का विष्णु बोहरालाई यति बेला राम्रोसँग खाने फुर्सद पनि छैन । स्याउ किन्ने व्यापारी पुगेपछि उनलाई टिप्न, कार्टुनमा प्याक गर्न र गाडी भएको ठाउँसम्म ओसार्न भ्याइ नभ्याई छ । ‘६/७ दिनदेखि स्याउको कामले खाने फुर्सदसम्म छैन, बिहानै परिवारै बगैँचामा जान्छौँ, एक छिन खाना खान फर्केर साँझसम्म खटिनुपरेको छ,’ उनले भने ।
आफ्ना तीन वटा बगैँचामध्ये यसपालि धेरै बोट नफलेको उनले बताए । परिवारका सदस्यले मात्र सक्ने अवस्था नहुँदा कामदार लगाएरै टिप्नुपर्ने अवस्था रहेको छ। रंगगाउँकै अर्का कृषक ज्ञानबहादुर बुढाले स्याउसँगै दाँते ओखर रोपेका छन्। यहाँको स्याउलाई राम्रोसँग ‘ग्रेडिङ’ गरेर बेच्न पाए अझै मूल्य पाउने उनले बताए ।
करिब ३ सय घरधुरी भएको रंगगाउँमा प्रायः घरले स्याउ रोपेका छन् । यस बेला बालबालिकादेखि वृद्धसम्म स्याउ टिप्न, प्याक गर्ने काममा लागेका छन् । गाउँका प्रत्येक घरले स्याउबाट यस वर्ष ५० हजारदेखि २ लाखसम्म आम्दानी गर्ने अनुमान गरिएको वडा नं. ४ का अध्यक्ष रञ्जित बुढाले बताए ।
‘यस वर्ष रंगगाउँमा मात्रै एक करोड भित्रिने अनुमान छ, गाउँमै व्यापारी पुगेर भनेकै मूल्य पाएपछि कृषक खुसी छन्,’ उनले भने, ‘पहिला स्याउ धेरै फले बजार नभएर चिन्ता हुन्थ्यो, अहिले त अन्य बाली रोप्न छाडेर पनि स्याउ रोप्न थालेका छौँ ।’ उनका अनुसार वडा कार्यालयले पनि स्याउ खेती प्रोत्साहन गर्न बिरुवा वितरणदेखि काँटछाँट र औजार उपलब्ध गरेको छ।
वडा कार्यालयले स्याउ पकेट क्षेत्र बनाएर बगैँचाको घेरा बाराका साथै संरक्षण गर्न कर्मचारी पनि नियुक्त गरिएको उनले सुनाए । रङ्ग गाउँमा मात्रै करिब २० हेक्टर क्षेत्रमा स्याउ रोपिएकाले केही वर्षमा सबैले फल दिन थाले पश्चिम नेपालको आधा बजार धान्ने अनुमान गरिएको वडाध्यक्ष बुढाले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाका रङसहित जिउ, सुँ, त्रिपुराकोट, मद्धुलगायतका गाउँमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ । यसबाहेक ठूलीभेरी नगरपालिका, काइके गाउँपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि व्यावसायिक खेती छ । केही वर्ष पहिलासम्म बजार अभावमा बोटमै कुहिने डोल्पाको स्याउ अहिले नेपालगन्ज, सुर्खेत, दाङ, धनगढी, पोखरालगायत सहरमा पुग्ने गरेको छ ।
डोल्पासम्म नियमित सिधा सडक यातायात जोडिएको छैन । हिाउदमा काठमाडौँ, नेपालगन्जलगायतका सहरबाट सिधै डोल्पासम्मै गाडी पुग्ने भए पनि बर्खामा खोलानालाले चार/पाँच ठाउँमा अर्को गाडीमा सार्नु पर्छ । डोल्पा जोड्ने सडकमा पर्ने स–साना खोलामा पुल नबनेको र सडक पनि कच्ची भएकाले अर्को गाडीमा बोकेर फेर्नुपर्ने व्यापारी बताउँछन् ।
०७५ मंसिरमै डोल्पासम्म सिधा राष्ट्रिय सडक सञ्जाल जोडिए पनि सडकको सुविधा राम्रो छैन । १ सय १८ किलोमिटर लामो भेरी कोरिडोरको तल्नुबगरदेखि दुनैसम्मको भाग कच्ची छ । यस बीचमा खोलानाला धेरै भएकाले बर्खामा चार/पाँच ठाउँमा बोकेरै सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । भेरी कोरिडोरको स्तरोन्नतिसँगै गाउँसम्म पुग्ने बाटो राम्रो भए यहाँको सबैजसो उपजको अझै राम्रो मूल्य पाइने कृषकहरूको अपेक्षा छ ।
कच्ची सडकको बीचबीचमा पर्ने खोलानालामा पुल नहुँदा वर्षमा ६ महिना जति आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्दै यात्रु गर्नुपर्ने बाध्यता छ । स्याउ सिजनमा पनि साउन खरिदका लागि साउन अन्तिम देखिनै व्यापारीहरू गाउँमा पुग्ने भएकाले यति बेला टिपेको स्याउ धेरै धेरै कष्ट सहेर बजार लैजानु पर्ने व्यापारीहरूको गुनासो छ ।
‘अर्ग्यानिक र स्वादमा पनि मिठो भएकाले सहरी क्षेत्रमा डोल्पाको स्याउको माग धेरै छ, सडक राम्रो नहुँदा नोक्सानी पनि व्यहोर्नु परेको छ, त्यसैले धेरै राम्रो भाउ दिन सकिएको छैन,’ सल्यानको बागचौर नगरपालिकाबाट स्याउ खरिद गर्न आएका डम्बर बहादुर वलीले भने, ‘कृषकलाई ग्रेडिङको सीप सिकाएर मोटर बाटो सुधार भइदिए डोल्पाको स्याउको माग र भाउ कसैले पछ्याउन सक्दैन।’
रङ्ग गाउँसम्म पुग्ने मोटर बाटो खुले पनि अझै स्तरोन्नति भएको छैन । गाउँसम्म सडक पुगे पनि त्यहाँबाट बगैँचा आसपास बाटो नहुँदा ढुवानी रकम थप बढ्नुको साथै बोकेर सडकसम्म ओसार्नु पर्ने समस्या भएको रंगका स्याउ कृषकको भनाइ छ ।
इलाका प्रहरी कार्यालय करोपगार्डका अनुसार भदौ ७ गतेदेखि आइतबारसम्म २ सय ७६ टन स्याउ बाहिरिएको छ । प्रहरीका अनुसार अझै स्याउ बाहिरिने क्रम जारी रहेको छ । अघिल्लो वर्ष डोल्पाबाट करिब १ सय ५० मेट्रिक टन स्याउ जिल्लाबाहिर गएको थियो ।
यस वर्ष हालसम्म ८० प्रतिशत स्याउ बिक्री भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको स्याउ जोन कार्यालयले जनाएको छ । डोल्पाको स्याउको मूल्य यो वर्ष किलोमा १५ देखि २० रुपैयाँले बढे पनि सडकको अवस्था सुधार र कोल्ड स्टोर निर्माण गरेर सिजन सकिएपछि जोगाउन सके अझै राम्रो भाउ पाउन सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको स्याउ जोन कार्यालय डोल्पाका प्रमुख गोविन्दबहादुर मल्ल बताउँछन् ।
‘स्याउबाट बन्ने अन्य परिकार जामजेली, वाइन, चानालगायत उत्पादनमा जोड दिएर पनि मूल्य बढाउन सकिन्छ, अनि मात्र डोल्पाली कृषकको आर्थिक अवस्था सुधार हुन्छ,’ उनले भने । उनका अनुसार डोल्पामा कुल ८ सय भन्दा धेरै हेक्टरमा स्याउ खेती गरिएको छ । डोल्पाबाट सिधा नेपालगन्ज, सुर्खेतसम्म सिधा गाडी पुग्ने व्यवस्था नहुञ्जेलसम्म स्याउ कृषकले राम्रो आम्दानी गर्न नसक्ने उनले बताए ।
यसवर्ष डोल्पामा स्याउ बिक्रीबाट सोह्र भन्दा धेरै करोड भित्रिने कार्यालयको अनुमान छ । डोल्पामा रेड डेलिसिएस, गोल्डपनलगायतका विभिन्न जातका स्याउ उत्पादन हुने गर्छन् । यस वर्षदेखि फुँजी स्याउ समेत रोपिएको स्याउ जोन कार्यालय डोल्पाले जनाएको छ ।
