बजेट विवादले सिंजामा लागेको ताला पाँच दिनपछि खुल्यो

अध्यक्षसहित वडाध्यक्षहरु, सबै दल र संघर्ष समितिका पदाधिकारीबीचको बैठकले पालिकामा लागेको ताला खुलाउने निर्णय गरेको हो ।

भाद्र १६, २०८२

डीबी बुढा

The lock on Sinja due to the budget dispute was opened after five days

What you should know

जुम्ला — बजेट संशोधनको माग गर्दै जुम्लाको सिंजा गाउँपालिकामा गत बुधबारदेखि लागेको ताला खुलेको छ । चार जना वडाध्यक्षको नेतृत्वमा ताला लागेको थियो ।

आइतबार गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको अध्यक्षतामा बसेको वडाध्यक्षहरु, सबै दल र संघर्ष समितिका पदाधिकारीबीचको बैठकले पालिकामा लागेको ताला खुलाउने निर्णय गरेको हो । बैठकले सात वटा निर्णय गरेको छ । सिंजा २ मा विनियोजन भएको सडकको १४ लाख ६३ हजार एक सय ४ रुपैयाँको बजेट ६ वटै वडाध्यक्षको संयुक्त अनुगमन प्रतिवेदन कार्यालयमा पेस भइसकेपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय भएको छ । 

सिंजा २ र ३ स्थित रनुखाना कोटेसाँघु बेलिब्रिज पुलको तत्काल गाउँपालिकाले बोलपत्र आह्वान गर्ने, लागत अनुमान बमोजिम अपुग हुने रकम केन्द्रीय सरकारसँग माग गर्ने र त्यसका लागि सर्वदलीय संयन्त्र तयार गर्ने निर्णय भएको हो । यदि यति गर्दा पनि बजेटको व्यवस्था हुन नसकेमा पालिकाको रकम व्यवस्थापन गर्ने भनिएको छ । 

चालु आर्थिक वर्षको बजेट आयोजना र कार्यक्रम संशोधन गर्नुपरेमा पालिकाको विधायन अधिवेशनमा छलफल गर्ने र सडक ग्राभेल गर्न प्रयोग हुने डोजर र टिपर भाडाका लागि विनियोजन भएको बजेट अपुग भएमा व्यवस्थापन गर्ने निर्णयसमेत भएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिए । 

पालिकाको सवारीसाधनमा प्रयोग हुने इन्धन खरिद गर्न सार्वजनिक सूचना प्रकाशन गरी बोलपत्र घटबडको माध्यमबाट खरिदको प्रक्रिया अघि बढाउने, समान रुपमा निर्णय हुन नसकेका विषयमाथि हिउँदे अधिवेशनमा छलफल गर्ने निर्णय भएको हो । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully