कर्णाली राजमार्गमा पहिरो : जुम्लादेखि छुटेका स्याउ बोकेका दर्जनौं ट्रक अलपत्र

तीन दिनसम्म पनि सडक सञ्चालनमा आउन नसकेपछि ट्रकमा राखिएका स्याउ कुहिने जोखिम बढेको व्यापारीहरूले बताएका छन् ।

भाद्र १६, २०८२

डीबी बुढा

Landslide on Karnali Highway: Dozens of trucks carrying apples left from Jumla stranded

What you should know

जुम्ला — कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्डमा पहिरो गएपछि जुम्लादेखि स्याउ बोकेका दर्जनभन्दा बढी मालवाहक ट्रक सडकमै रोकिएका छन् ।

तीन दिनसम्म पनि सडक सञ्चालनमा आउन नसकेपछि ट्रकमा राखिएका स्याउ कुहिने त्रास बढेको छ । भदौ १४ गते विहान गगनेखोलमा पहिरो गएको थियो । अहिलेसम्म सडक खुलाउन सकिएको छैन । प्रहरी चौकी नाग्म कालीकोटका अनुसार तीन दिनमा स्याउ बोकेका २० वटा ट्रक छुटेका छन् । ती ट्रक सडकमा पहिरो आएकाले सुर्खेत-नेपालगन्जका बजारमा पुर्‍याउन सकिएको छैन । स्याउ बाटोमै कुहिने जोखिम बढेको व्यापारीहरूले बताएका छन् । 

गत वर्षको भन्दा यो वर्ष स्याउ स्वादिलो पनि छ । स्याउ किसान गोपाल रोकायाले सडकले हरेक वर्ष किसान र व्यापारीलाई घाटा पुर्‍याउने गरेको दुःखेसो पोखे । 

भदौ १४ गते ८ वटा, १५ गते ११ वटा र १६ गते एक वटा गरेर २० वटा ट्रकमा स्याउ लोड भएको प्रहरीले जनाएको छ । प्रहरी चौकीका असइ यम शर्माले जुम्लादेखि जाने हरेक मालवाहक गाडीमा स्याउ लोड हुने गरेको बताए । सडकमै स्याउका गाडी थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालको भनाइ छ । 'हरेक वर्ष स्याउ निर्यात गर्ने बेला सडकमा पहिरो आउँदा र वर्षा धेरै हुँदा हामी आजित छौं,' उनले भने ।

जुम्लादेखि स्याउ लिएर गएका कालीबहादुर रोकायाले अहिलेको वर्ष पनि पहिरोले सास्ती खेप्नु परिरहेको बताए । उनले ४ हजार केजी स्याउ बिक्रीका लागि लिएका छन् । दुई दिनसम्म बाटोमै थन्किएकाले बजारमा स्याउ पुर्‍याउन कठिन भएको उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष १३ हजार मेट्रिक टन स्याउ फल्ने अनुमान गरिएको छ । स्याउका झन्डै ५ लाख बिरुवामा असिनाले क्षति पुर्‍याएको छ  । 'स्याउको उत्पादन कम भएकोले मूल्य बढ्ने देखिएको थियो,' किसान रोकायाले भने, ‘तर समयमै बजारसम्म लैजान नसक्दा घाटा बेहोर्नुपर्ने देखियो ।’

गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्व भएपछि ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेका थिए । स्याउ कुहिएर लाखौंको क्षति भएको थियो । 

सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाउन ब्लाष्टिङको तयारी भइरहेको जनाएको छ । कार्यालय प्रमुख दीपेन्द्र चौधरीले ब्रेकरले लगाएर पनि ढुंगा नफुटेकोले ब्लाष्टिङको तयारी भएको बताए । उनले भने, ‘अब ब्लाष्टिङ नगरी सडक खुल्ने स्थिति छैन । कालीकोट प्रहरी प्रशासन र सेनासँग समन्वय गरी ब्लाष्टिङ गर्ने तयारी भइरहेको छ ।’ 

तत्काल सडक खुलाएर जुम्ली स्याउ सहजै रुपमा बजारमा लैजाने वातावरण बनाउन जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले दबाब दिइरहेका छन् । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौं, पोखरा, धनगढी, कैलाली, चितवन र बुटवलका बजारसम्म पुग्ने गरेको छ । किसानले यो पटक बगैंचामै प्रतिकेजी ७० रुपैयाँ मूल्य हालेका छन । जिल्लाको ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully