कर्णालीमा विपद : २ महिनामा ७ को मृत्यु, ३९ घाइते

प्रदेशभर ३ सय ८ वटा विपद्का घटना भए । ३ सय ४२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । विपद्का घटनाबाट ३ सय ११ पशुचौपाया मरे । विपद्का घटनाबाट लाखौँको भौतिक क्षतिसमेत भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

भाद्र १३, २०८२

तृप्ति शाही

Disaster in Karnali: 7 dead, 39 injured in 2 months

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा २ महिनाको अवधीमा विपद्मा परी ७ जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् । २०८२ को जेठ १८ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो, चट्याङलगायतका घटनामा उक्त संख्यामा मानवीय क्षति भएको हो । 

प्रदेशभर ३ सय ८ वटा विपद्का घटना भए । ३ सय ४२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । विपद्का घटनाबाट ३ सय ११ पशुचौपाया मरे । विपद्का घटनाबाट लाखौँको भौतिक क्षतिसमेत भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सबैभन्दा बढी विपद्जन्य घटना भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा भए । रुकुम पश्चिममा ५५ घटना भएकोमा एकजनाको मृत्यु तथा एकजना घाइते भए । रुकुम पश्चिममा ५२ भौतिक संरचना क्षति भएको छ ।

यस्तै जाजरकोटमा ४६ घटना भए । २ जनाको मृत्यु भयो भने ३ घाइते भए । ५६ वटा भौतिक संरचनामा क्षति पुग्यो । ८ पशुचौपाय मरे ।

सुर्खेतमा २ जनाको मृत्यु भएको छ । २२ वटा विपदका घटना भएकोमा ८ जना घाइते भएका छन् भने २१ वटा भौतिक संरचनामा क्षति पुग्यो । २ वटा पशुचौपाय मरे । 

डोल्पा र मुगुमा १/१ जनाको मृत्यु भयो । १७ वटा विपद्का घटनामा ६ जना घाइते भए । ३७ भौतिक संरचनामा क्षति पुग्यो । मुगुमा २५ वटा विपद्का घटनामा ३ जना घाइते भए । २५ भौतिक संरचनामा क्षति पुगेको छ । मुगुमा ४५ पशुचौपाय मरे । दैलेखमा ३९ वटा विपद्का घटना भएकोमा ९ जना घाइते भए । ९ पशुचौपाय मरे भने २४ भौतिक संरचनामा क्षति पुग्यो ।

यस्तै सल्यानमा २९ वटा विपद्का घटना भएकोमा ७ जना घाइते भए । ८ पशुचौपाय मरे भने २६ वटा भौतिक संरचनामा क्षति पुग्यो । कालिकोटमा ४६ वटा विपद्का घटना भए । १ जना घाइते भए । ४५ घरमा क्षति पुग्यो । हुम्लामा १४ वटा घटना भएकोमा ७ वटा पशु चौपाय मरे ।

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बाढी पहिरोका घटना भएका छन् । कर्णालीको भूगोलका कारण पनि बाढी पहिरोको जोखिम बढी छ । १ सय ३३ पहिरो र बाढीका ३९ घटना भए । बाढीपहिरोमा मात्रै ४ को मृत्यु भयो भने १२ घाइते भए । बाढी पहिरोले २ सय ३३ भौतिक संरचनामा क्षति पुर्‍याएको छ । चट्याङबाट २ जनाको मृत्यु भयो भने २७ घाइते भए । चट्याङबाट २ सय ६८ पशुचौपाय मरेका छन् । 

माथिल्लो कर्णालीका खर्क र पाटहरुमा पशुचौपाय चराउन लैजाने गरिन्छ । त्यहाँ धेरै चट्याङ पर्ने हुँदा पशुचौपायमा क्षति हुने गरेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully