भारतको धराली बाढी : माटो र कुशको शव बनाएर दाहसंस्कार

बेपत्ता शाहीको शव खोज्न धराली पुगेका आफन्तजनले रित्तो हात फर्किए, परिवारको सपनाहरू बाढीले भत्काइदियो।

भाद्र ११, २०८२

डीबी बुढा

India's Dharali Flood: Cremation by making corpses of clay and mud

What you should know

जुम्ला — भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धराली क्षेत्रमा गत साउन २० गते बाढीमा परी बेपत्ता भएका जुम्लाका ४४ वर्षीय जनकबहादुर शाहीको मंगलबार तिला गाउँपालिका–३ त्रिवेणीधाममा दाहसंस्कार गरिएको छ। शव नभेटिएकाले धरालीको माटो र कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।

शाहीको बेपत्ता भएको एक महिना बित्दा पनि शव नभेटिएपछि खोजीमा गएका आफन्तजनले धरालीको माटो बोकेर ल्याएका थिए। बाढीमा परेका शाहीको खोजीका लागि साउन २१ गते नै तीन जना आफन्त धराली पुगेका थिए। भदौ २ गते थप तीन जना समेत पुगे पनि खोजीका सबै प्रयास असफल भएपछि मंगलबार दिउँसो घरमै दाहसंस्कार गरिएको हो।

मृतकका दाजु पदमबहादुर शाहीका अनुसार धराली क्षेत्रमा करिब ५० फिट बालुवा थुप्रिएको छ, जसमा शव भेटिने सम्भावना छैन। उनले भने, 'कतै पनि भेटिने संकेत देखिएन, त्यसैले रित्तो हातमा धरालीको माटो बोकेर फर्कियौँ।'

भारतीय प्रहरीलाई निवेदन दिएर शव खोजीको आग्रह समेत गरिएको थियो। प्रहरीले अधिकतम प्रयास गर्ने र भेटिएमा जानकारी दिने आश्वासन दिएको आफन्तले बताए।

धराली पुगेको एक वर्षदेखि जनकबहादुर शाही होटल सञ्चालन गर्दै आएका थिए। होटल राम्रोसँग चलिरहेको र परिवारको भविष्य सुरक्षित हुने आशा गरेको बेला बाढीले सबै सपना भत्काइदिएको परिवारको भनाइ छ। उनको श्रीमती, तीन छोरी र एक छोरा छन्।

बेपत्ता नेपालीप्रति सरकार उदासीन रहेको परिवारको आरोप छ। भारत सरकारले आफ्ना नागरिकलाई राहत दिएको भए पनि नेपाल सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ। शव भेटिए मात्र भारत सरकारले राहत दिन सक्ने जनाएको छ तर भेटिने सम्भावना न्यून छ।

बाढीमा परेर तिला गाउँपालिका–५ का वीरेन्द्रबहादुर शाही र यज्ञ विक्रम शाही घाइते अवस्थामा भेटिएका थिए। उनीहरूको भारतमै उपचार भइरहेको छ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully