मापदण्डभित्र पर्ने स्थायी संरचना पनि हटाउनुपर्नेमा त्यसो नगरिएकामा सर्वसाधारणले विभेद भएको गुनासो गरेका छन् ।
What you should know
रुकुम पश्चिम — रूकुम पश्चिमको मुसीकोट नगरपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत जथाभाबी बनाइएका अस्थायी संरचना हटाउन थालेको छ । खासगरी मुख्य बजारको सडक छेउछाउमा बनाइएका संरचना हटाउन लागिएको हो ।
रूकुम पश्चिमको जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाको मुख्य बजार क्षेत्रअन्तर्गत सल्ले, खलंगा र सेरिगाउँको मूल सडकको दायाँबायाँ बनाइएका अस्थायी संरचना हटाउन नगरपालिकाले पहल थालेको छ ।
पछिल्लोपल्ट गत जेठ २१ गते कार्यपालिकाको बैठक बसी नगरप्रमुख, उपप्रमुख र १२ नं. वडाका अध्यक्ष रहेको ३ सदस्यीय समिति गठन गरी स्थानीय प्रशासनसागको समन्वयमा यस्ता संरचना हटाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार कार्यन्वयनमा गएको नगर प्रमुख महेन्द्र केसीले बताए ।
गत साउन पहिलो साता सार्वजनिक सूचना जारी गरी बजार क्षेत्रमा बनाइएका अस्थायी संरचनाहरू हटाउन एक महिनाको समय नगरपालिकाले दिएको थियो । तर उक्त अवधिभित्र संरचना नहटाउनेलाई नगरपालिकाले बल प्रयोग गरी संरचना हटाउने चेतावनी दिएको छ । त्यसपछि भने ती संरचना बनाएकाहरू आफैले हटाउन थालेका छन् । हाललाई मुख्य बजार क्षेत्र सल्ले, खलंगा र सेरिगाउाको मूल सडकको केन्द्रबाट ५ मिटर दायाँ–बायाँ रहेका अस्थायी संरचना हटाउन भनिएको छ । तर सर्वसाधारणले मापदण्डभित्र पर्ने स्थायी संरचना पनि हटाउनुपर्नेमा त्यसो नगरिएकामा विभेद भएको गुनासो गरेका छन् ।
स्थानीय व्यवयायी भीमबहादुर पुनले भने, ‘हामीले त सरकारले भन्नेबित्तिकै उक्त अनुरोधलाई स्वीकार गरेर टहरा हटायौं । तर यहाँ त पक्की घरहरुले पनि त बाटो मिचेका छन् । उनीहरुको चाहिँ के हुन्छ ? कानुन त सबैलाई बराबरै हुनुपर्यो नि ।’
नगरपालिकाले भने यो सुरुवात भएको भन्दै चाँडै नै मापदण्डभन्दा बाहिरका पक्की लगाएतका सबै संरचना हटाउने प्रतिबद्धता जनाएको छ ।
मुसिकोटमा स्थानीय सरकार गठन भएदेखि नै सडक छेउछाउ बनेका मापदण्डविपरीतका सबै संरचना हटाउन पटक–पटक निर्णय गर्ने र सार्वजनिक सूचना जारी हुने गरेको तर कार्यन्वयनमा समस्या हुने गरको थियो ।नगर प्रमुख केसीले अब भने आफुहरु त्यसो हुन नदिने पक्षमा रहेको बताए ।
‘यो सजिलो काम होइन । तर नगरी नहुने काम हो । यसकारण हामीले ठूलो चुनौतीका बावजुत अघि बढेका छौं,’ नगर प्रमुख केसीले भने, ‘निर्धारित मापदण्डअनुसारको सडक निर्माण गर्नका लागि दायाँबायाँका भौतिक संरचना हटाउन जरुरी छ । यसमा अस्थायी र स्थायी भन्ने छैन । सबै हटाउने हो । क्रमशः काम अघि बढ्छ ।’
