संघीय मामिला मन्त्रालयको स्वमूल्यांकनमा त्रिवेणी गाउँपालिकाले ८५ अंक ल्याई जिल्लामै अग्रस्थानमा रहन सफल भएको छ।
सल्यान — स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजामा त्रिवेणी गाउँपालिका जिल्लामै प्रथम भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणसहितको अन्तिम नतिजाअनुसार उत्कृष्ट अंक ल्याई त्रिवेणी जिल्लामै प्रथम भएको हो ।
जिल्लामा १० स्थानीय तह रहेकामा त्रिवेणी गाउँपालिकाले ८५ अंक ल्याई प्रथम भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा अनुसार त्रिवेणी गाउँपालिका कर्णालीमा दोस्रो भएको उनले जानकारी गराए ।
उनका अनुसार शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट, योजना तर्जुमा तथा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक सामावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन गरी १० शीर्षकमा स्थानीय तहको मूल्यांकन भएकामा जनप्रतिनिधि, कर्मचारीलगायत सबैको कामप्रति लगन, सक्रियताले त्रिवेणी गाउँपालिका जिल्लामै प्रथम हुन सफल भएको हो ।
