पर्यटन क्षेत्र घोषणा भएको पंगेली दह संरक्षणको अभावले सुक्न थालेपछि स्थानीय बासिन्दा चिन्तामा छन् ।
What you should know
कालीकोट — गाउँको सिरानमा खुला ठाउँमा ठूलो पानीबिनाको सुक्खा पोखरी । टाढाबाट हेर्दा खेल मैदानजस्तो देखिने हरियो चौर । कालीकोटको पचालझरना-७ नुवाघरस्थित पंगेली दह (पोखरी) हो यो ।
साउन-भदौको महिना पनि पानी नभरिँदा दह संकटमा पर्दै गएको छ । वर्षाको पानी जम्मा भएर जीवजन्तुलाई खुवाउन र जमिन रसिलो बनाउन काम लाग्ने पोखरी संरक्षणको अभावमा संकटमा पर्दै गएको स्थानीयको गुनासो छ ।
गाउँमुनिको सुक्खा जमिन रसिलो बनाइराख्न बस्तीभन्दा माथि रहेको पंगेली दहको पानी सुकेपछि संकटमा परेको पचालझरना-७ का वडाध्यक्ष कलबहादुर ऐडीले बताए । 'गाउँँको सिरानमा रहेको यो दह पुस्तौंदेखिको हो,' उनले भने, 'पहिले अलि सानो हुँदा भरी हुन्थ्यो, विस्तार गर्ने नाममा ठूलो बनाएपछि पानी नै भरिन छाड्यो ।' उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको १५ लाख खर्च गरेर ठूलो बनाउदा पानी नै हुँदैन । उनले वर्षाको पानीले भरेर हिउँद यामको सुक्खा सिजनमा पनि गाईभैंसीलाई पानी खुवाउने र जमिनमा चिस्यान बनाइराख्न काम लाग्ने दहमा पानी जम्न छाडेपछि गाउँमा खडेरीको संकेत देखिएको सुनाए । दहको संरक्षणका लागि गाउँपालिकामा पानीको धारा माग गरे पनि पूरा नभएको उनको भनाइ छ ।
पंगेली दह क्षेत्रलाई ०७६ मा स्थानीय सरकारले पंगेली पर्यटन क्षेत्र घोषणा गरेको थियो । यसलाई विस्तार गरेपछि पोखरीमा पानी नै नभरिने समस्या रहेको वडा सदस्य धर्मराज बोहोराले बताए ।
वरिपरि जंगल क्षेत्र रहेको यो ठाउँ वन विनाश भएर सुक्खा क्षेत्रका रुपमा छ । बिन्द्राल देवी छेताल मष्टो देवी देवताको नामबाट पोखरीको छेउमा मन्दिर पनि छ । जीवजन्तुको पानी खाने र गाउँको जमिन चिस्यान गरी पानीको मूल सुक्नबाट बचाउन स्थानीयले दहको संरक्षण गर्दै आएका थिए । यही ठाउँमा भदौ १५ गते मेला लाग्ने गर्छ ।
स्थानीय सरकारले पंगेली पर्यटन क्षेत्र घोषणा गरे पनि दहको संरक्षण हुन नसकेको सुनाए । परम्परागत दहको पानी सुकेपछि संकटकालमा दोगाड खोलाको सिँचाइ कुलोबाट पानी ल्याएर ३ वर्षसम्म पोखरीमा खसाले पनि पछि त्यहाँको पानी आउन छाडेपछि पोखरी सुकेको बोहोराले सुनाए ।
बोहोरा, बोगटी, बुढालगायतका जातजातिको बसोबास रहेको नुवाघर गाउँको सिरानमा पुस्तौंदेखि रहेको पंगेली दहमा अचेल पानी भरिन छाडेर गाउँको जमिन पनि सुक्खा भएर खडेरीको समस्या हुने गरेको स्थानीय गंगाराम बोहोराले बताए । 'उति बेला (पहिले) साउन भदौको वर्षाले पोखरीमा पानी भरिभराउ हुन्थ्यो,' पचालझरना-७ नुवाघरका ७९ वर्षीय गंगाराम बोहोराले भने, 'अचेल त पानी नै थिउरिँदैन (टिक्दैन) ।'
बढ्दो वन विनाश, मौसमको फेरबदल, जथाभावी डोजर लगाएर सडक निर्माण गर्नेजस्ता कामले पानीका मूल सुक्दै आएको र आकाशबाट पानी पनि कम पर्न थालेको पंगेली माविका प्रधानाध्यापक धर्मराज बोहोराले बताए । पंगेली दहको संरक्षणका लागि स्थायी रुपमा एउटा खानेपानी धारो राख्नुपर्ने उनको सुझाव छ ।
अर्को डाँडामा रहेको ठूलो खालको दहको पानी पनि सुकेको स्थानीय कटक बम बताउँछन् । परम्परागत रिचार्ज पोखरीले जीवजन्तुलाई पानी खान र वर्षभरि नै जमिन रिचार्ज गरिरहने भएकाले खडेरीबाट बचाउन यसले सहयोग पुर्याएको थियो । कतिपय दह सुकेको र कतिपय अतिक्रमण गरेर व्यक्तिले आफ्नो बनाइसकेको उनले बताए ।
वलवायु विज्ञ लीलाराम न्यौपाने परम्परागत पोखरीको संरक्षण गर्नुपर्ने बताउँछन् । कालीकोटका लेकाली भेगमा ठाउँठाउमा वर्षाको पानी भरिने पोखरी भए पनि ती घट्दै गएको उनको भनाइ छ । संरक्षणका लागि स्थानीय सरकारले योजना बनाएर पानीको जोहो गरेर पोखरी भर्न सके जमिन रिचार्ज भइरहने र खडेरीको समस्या नहुने उनी बताउँछन् ।
गाउँमा विकासी योजनाबाट सिमेन्ट पोखरी र कुलो निर्माण हुन थालेपछि जमिन रिचार्ज हुन नपाउने अवस्था रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालीकोटका सूचना अधिकारी देवानन्द धितालले बताए । 'विकासका नाममा सिमेन्टको प्रयोगले परम्परागत कुलो, पोखरी संकटमा छन्,' उनले भने, 'सिमेन्टका सिँचाइ कुलो बनाउन थालेपछि गाउँबस्तीका परम्परागत खानेपानीका मूल पनि सुक्दै गएका छन् ।'
पानीको स्रोत नभएकाले लेकाली भेगमा वन्यजन्तुका लागि पानी खान सहज बनाउन पनि रिचार्ज पोखरी बनाउन अभियान नै चलाउनुपर्ने हिमालयन सामुदायिक स्रोत विकास केन्द्र कालीकोटका अध्यक्ष कर्णप्रसाद चौलागाईंले बताए ।
कालीकोटको पचालझरना-७ नुवाघरस्थित पंगेली दह । संरक्षण अभावमा यो पोखरी सुकेको छ । तस्बिर तुलाराम/कान्तिपुर
