गत असारमा निर्माण सम्पन्न पक्की भवनमाथिबाट पहिरो झरेपछि क्षतिग्रस्त भएको हो ।
What you should know
कालिकोट — पहिरोले कालिकोटको नरहरिनाथ–७ माल्कोट रातीमाटास्थित शान्ति माविको दुई कोठे नयाँ पक्की भवनमा क्षति पुर्याएको छ । गत असारमा निर्माण सम्पन्न पक्की भवन सोमबार विद्यालय माथिको डाँडा उप्किएर पहिरो झरेपछि क्षतिग्रस्त भएको हो ।
वर्षासँगै आएको पहिरोले पककी भवनको पछाडि पूरै भत्किएको, एक पिलर भाँचिएको, अगाडिको भाग पनि चर्किएर बस्नै नमिल्ने भएको विद्यालयका प्रधानाध्यापक हरिचन्द्र बटालाले बताए । 'असारमा भवन बनेर सकियो', विद्यालयका प्रधानाध्यापक हरिचन्द्र बटालाले भने, 'विद्यार्थी बसेको दुई दिन मात्र भएको थियो । पहिरोले भत्काइदियो ।' उनले पहिरोले पूरै विद्यालय जोखिममा रहेकाले मंगलबार पठनपाठन बन्द गरेर विद्यार्थी घर पठाएको सुनाए । पहिरोले विद्यालयको खानेपानी, १० वटा डेस्कबेन्च, एक टेबल र ५ सय लिटरको पानी खाने ट्यांकी पनि क्षति पुर्याएको विद्यालयले जनाएको छ ।
विद्यालयको भवन भत्किएपछि मंगलबार विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर पठनपाठन सुरु गर्न शिक्षक, अभिभावक र सरोकारवालासँग सुझाव लिने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलवीर बटालाले बताए । 'आकस्मिक बैठक बसेर क्षति हेर्ने काम भयो,' उनले भने, 'पहिरो झर्न अझै रोकिएको छैन ।' उनका अनुसार माथिल्लो भागमा रहेको पिलरसहितको भवनले तलको क्षति रोकेकाले फिल्डसम्म पहिरो पुगेको छैन ।
सोमबार बुलुकी पौने ७ बजे आफू विद्यालयको फिल्डमै रहेको बेला पहिरो झरेर हेर्दाहेर्दै भवन भत्किएको स्थानीय नवीन बटालाले बताए । 'विद्यालय माथिको पूरै डाँडो नै उप्कियो,' उनले भने, 'खानेपानीको पाइप, पक्की भवन सबै क्षतिग्रस्त भयो ।' क्षतिग्स्त भवनको मुचुल्काका लागि कुमालगाउ प्रहरी चौकीलाई खबर गरिएको स्थानीय पार्वती बटालाले बताइन् । उनी माल्कोट स्वास्थ्य संस्थाकी मातृशिशु कार्यकर्ता पनि हुन् ।
विद्यालय भवनका लागि नरहरिनाथ गाउँपालिकाले गत वर्ष रु ५० लाखको ठेक्का गरेको विद्यालय भवन निर्माणको लागि निर्माण व्यवसायी रतन सहकारीले ३४ लाख ३४ हजार मा ठेक्का लिएर दुई कोठे पक्की भवन निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्त्रण गरेको थिए । 'सुरुमा ठेक्का ३४ लाख ३४ हजारमा लिएको हो । निर्माण व्यववसायी सहकारीले भनेपछि लागत बढेर ३८ लाख भुक्तानी पाएको हुँ,' उनले भने । आफूले दिएको डिजाइन स्टिमेट अनुसार काम गरेको दाबी गर्दै धेरैमातिबाट पहिरो आएर भवन भत्किएको उनले बताए ।
०४२ मा स्थापना भएको शान्ति माविमा ०६४ देखि प्लस टुको अनुमति पाएको कार्यवाहक वडाध्यक्ष तथा अभिभावक करबहादुर बटालाले बताए ।
बटाला, बुढा, सहकारी, विश्वकर्मा र दर्जी जातिका बालबालिका अध्ययन गर्ने नरहरिनाथको माल्कोट रातीमाटास्थित शान्ति माविमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म ४ सय ५० विद्यार्थी छन् ।
