कर्णालीका हिमाली जिल्लामा सर्पदंशको समस्या बढ्दो। स्थानीय तहमा उपचार केन्द्र नहुँदा धेरैको ज्यान जोखिममा परेको छ।
What you should know
कालीकोट — खाँडाचक्र नगरपालिका –५ कार्कीवाडाका २१ वर्षीय लोकेन्द्र कार्कीलाई लासीस्थित घरमा सुतिरहेको बेला साउन २८ गते बिहान ५ बजे सर्पले टोक्यो । दाहिने हातको चोर औलामा सर्पले टोकेपछि उनी आत्तिदै चिच्चाए । खरले छाएको घरको पल्लो कुनामा सुतिरहेकी उनकी ५ दिनकी सुत्केरी पत्नी शान्ति बिष्ट चिच्याउँदै बाहिर निस्किन् ।
आफन्त हासु कार्कीका अनुसार सर्पले टोक्ने बित्तिकै लोकेन्द्रले औला मुखमा हालेका थिए । घरमा रुवावासी भएपछि छिमेकीले थाहा पाएर लोकेन्द्रलाई बोकेर सवा एक घण्टाको उकालो छेकास्थित कर्णाली राजमार्ग हुँदै ३ घण्टापछि जिल्ला अस्पताल मान्म पुर्याए । त्यतिन्जेल उनी बेहोस भइसकेका थिए । मान्ममा पनि सर्पदंशको उपचार सुविधा नभएपछि चिकित्सकले सुर्खेत रिफर गरे । एम्बुलेन्स खोजेर सुर्खेत लैजाने क्रममा दैलेख र सुर्खेतको सिमाना कल्याण काँधमा बेलुकी ४ बजे लोकेन्द्रको मृत्यु भयो ।
‘घरबाट अस्पताल पुर्याउनै ढिलो भइसकेको थियो,’ जिल्ला अस्पतालबाट रिफर गर्ने डा. शुभनारायण ठाकुरले भने, ‘घरको अवस्था कमजोर भएकाले आफन्तले हेलिकोप्टरको खर्च बेर्होन सक्दैन भनेकाले एम्बुलेन्समा पठाइयो, बाटोमै मृत्यु भएछ ।’
शुक्रबार बिहान बारीमा घाँस काट्ने क्रममा सर्पले टोकेपछि खाडाचक्र–६ दाहाकी १९ वर्षीया जौमती विश्वकर्मा जिल्ला अस्पताल मान्म आइन् । आफन्तले नाडीमा बेस्सरी डोरीले बाँधेर अटो रिक्सामा उनलाई जिल्ला अस्पताल पुर्याएका थिए । घाँसमा रहने विष कम हुने हरियो सर्पले टोकेकोले अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए ।
लासीमै गत वर्ष पनि खाडाचक्र–५ ढाडगाउँका ३० वर्षीय मणिचन्द्र चौलागाईंलाई विषालु सर्पले टोकेको थियो । तरकारी खेती गरेर परिवार पाल्ने चौलागाईंलाई करेसाबारीमा काम गर्ने क्रममा सर्पले टोकेको पत्नी कल्पना चौलागाईंले बताइन् । सर्पले टोकेपछि मणिचन्द्रलाई पनि लोकेन्द्रझै जिल्ला अस्पताल मान्म पुर्याए । मान्मबाट प्रदेश अस्पताल सुर्खेत रिफर गरेको ५ घण्टापछि कर्णाली राजमार्ग हुँदै सुर्खेत लैजाने क्रममा दैलेखको राकममा चौलागाईंको मृत्यु भयो ।
पोहोर सालै शुभकालिका–६ हाउडीका २६ वर्षीय धनप्रसाद आचार्यलाई घाँस काट्दा सर्पले टोक्यो । मान्म पुग्नै पैदल दिनभर लाग्ने हाउडीबाट बिरामी ल्याउन कठिन भएकाले हेलिकोप्टर मगाएर एक घण्टाभित्रै सुर्खेत पुर्याउँदा आचार्यको ज्यान बच्यो । उनको हेलिकोप्टर भाडा मात्र ५ लाख लागेको थियो । सुर्खेतमा उनको १५ दिन आइसीयूमा राखेर उपचार गरेपछि निको भएका थिए । गाउँमै कृषि कर्म गरिरहेका आचार्यले त्यतिबेला शुभकालिका गाउँपालिकाले हेलिकोप्टरको भाडा तिर्ने भने पनि नदिएको गुनासो पोखे ।
त्यस्तै, दुई वर्षअघि पचालझरना–१ सिकुकी ३५ वर्षीया केसरी खड्काको ज्यान गयो । सर्पले टोकेपछि सुरुमा झारफुक गर्न लाग्दा मान्म नपुग्दै बिरामीको मृत्यु भएको स्थानीय लक्ष्मी बोगटीले बताइन् । गर्मी बढी हुने कर्णाली नदी किनारका बस्तीमा बर्खाका बेला बर्सेनि सर्पदंशका घटना भइरहेका छन् । नजिकमा सर्पदंशका उपचारको सुविधा नहुँदा विषालु सर्पले टोकेका घाइतेको ज्यान जाने घटना बढिरहेको बोगटीले बताए ।
जिल्ला अस्पतालमा समेत उपचार नहुने भएकाले कतिपय बिरामी सर्पले टोके पनि गाउँमै झारफुक गर्दा ज्यान गुमाइरहेका छन् भनी मानव अधिकारकर्मी कालीबहादुर मल्लले बताए । पछिल्ला वर्ष हिमाली जिल्लामा पनि सर्पदंशका घटना हुन थालेको कालीकोट जिल्ला अस्पतालका एमडिजीपी डा. ठाकुरले बताए ।
‘कालीकोटको नदी किनार क्षेत्रमा अत्यधिक गर्मी हुन्छ । गर्मी ठाउँमा सर्पदंशको समस्या छ । पहिले फाट्टफुट्ट देखिने सर्पदंशका केस अचेल बढी देखिन थाले,’ उनले भने । कर्णालीका १० जिल्ला मध्ये सर्पदंशको उपचार सुविधा सुर्खेत नभएको उनले जानकारी दिए । उनका अनुसार सर्पदंश उपचार केन्द्रका लागि आइसीयू, भेन्टिलेटर सुविधासहित एन्टी–स्नेक भेनम आवश्यक पर्छ ।
हिमाली जिल्ला भए पनि कालीकोटमा चर्को गर्मीदेखि अत्यधिक चिसो हावापानी भएकाले बेँसीतिर विषालु सर्प भेटिने गरेको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. भीष्मप्रसाद पोख्रेलले बताए । जलवायु परिवर्तनको असरले कालीकोटमा लामखुट्टे र विषालु सर्प भेटिन थालेको पोख्रेलले सुनाए ।
‘अचेल त बर्खामा महिनैपिच्छे विषालु सर्पले टोकेका बिरामी आउँछन् । जिल्ला अस्पतालमा सर्प उपचार केन्द्र आवश्यक भइसकेको छ,’ उनले भने । जिल्ला अस्पतालले गत वर्षदेखि एन्टी–स्नेक भेनम माग गर्दै आए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
कालीकोटका ९ वटै स्थानीय तहमा बेसीँतिर गर्मी र माथिल्लो लेकमा अत्यधिक चिसो हुन्छ । बढी ठाउँमा बर्सेनि सर्पदंशबाट ज्यान जाने घटना भइरहेका छन् ।
जिल्लामै उपचारको सुविधा नहुँदा सर्पले टोकेका घाइते अस्पताल नआएर गाउँमै झारफुकको भर पर्दा ज्यान गुमाउन बाध्य भएको चुलिमालिका माविका शिक्षक डिल्ली चौलागाईंले बताए । ‘सदरमुकाम नजिक पर्ने खाडाचक्रकै दुई जना अस्पताल गए पनि उपचार पाएनन्,’ उनले भने, ‘दुरदराजबाट त मान्म पुग्नै घण्टौं लाग्छ ।’
स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकवहादुर महतका अनुसार ५ वर्षयता सर्पले टोकेका १० जनामध्ये ३ जनाको मृत्यु भएको छ । तर, अस्पतालले रिफर गरेर ज्यान गुमाएका सर्पदंशका बिरामीको तथ्यांक उल्लेख नभएको उनले बताए ।
सर्पले टोकेका बिरामीको सक्दो चाँडो उपचार गर्नुपर्ने भए पनि कर्णाली प्रदेशभर सुर्खेतमा मात्र उपचार सुविधा छ । भौगोलिक विकटताले माथिल्लो कर्णालीका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पाबाट स्थलमार्ग हुँदै सुर्खेत पुग्न कम्तीमा ८ घण्टादेखि २ दिनसम्म लाग्छ ।
सर्पदंश उपचार केन्द्र स्थापना सम्बन्धी मापदण्ड २०७७ अनुसार सर्पदंशको उपचारका लागि डाक्टर रुम, नर्सिङ स्टेसन, बिरामी बेडलगायत भौतिक संरचना, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, आइसीयू, रेफ्रिजेरेटर, प्यासेन्ट मोनिटरलगायत उपकरण, मेडिकल अफिसर १ सहित ७ जना जनशक्ति हुनुपर्ने उल्लेख छ ।
कालीकोट अस्पतालमा गत वर्ष भवन बनेपछि ठाउँको समस्या नभएको सूचना अधिकारी महतले बताए । उनले सर्पदंशका विरामीका लागि सरकारले हेलिकोप्टर सेवा निःशुल्क गर्नुपर्ने बताए ।
‘आमा सुरक्षा कार्यक्रम जस्तै हवाई उद्धारको सुविधा भए सर्पले टोकेका सबैजसो बिरामी बचाउन सकिन्छ,’ उनले भने, ‘जिल्लाभित्रै सर्पदंश उपचार केन्द्र स्थापना गर्न सके पनि झनै सहज हुन्छ ।’
