पैसा कमाएर मोबाइल किन्न भारत जान लागेको उनीहरुले बताएका छन् ।
What you should know
कालिकोट — कालिकोटबाट भागेर भारत जाने भन्दै गएका चार जना बालक नेपालगञ्जमा भेटिएका छन् । महाबै ५ गेलाका ती बालकहरु घरबाट भागेर भारत जाने क्रममा नेपालगञ्जमा भेटिएका हुन् ।
बिहीबार बेलुकी घरबाट भागेर कर्णाली राजमार्ग हुँदै मान्म आएका गेलाका सर्जन शाही, अर्जुन शाही, सन्दीप सुनार र सुर्खेत घर भएर गेलामा बस्दै आएका गोरे खड्का बाँकेको नेपालगञ्ज बसपार्क नजिकै होटल महाबै घर भएका होटल व्यवसायी प्रेमबहादुर शाहीले भेटाएर सामाजिक सञ्जालमार्फत आफन्त सम्पर्कमा आएका छन् । सबै बालकको उमेर १३ वर्ष छ भने सुर्खेतका खड्का बाहेक ३ जना कालिका मावि गेलामा कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । उनीहरु पैसा कमाएर मोबाइल किन्न भारत जान लागेको बताएको व्यवसायी शाहीले सुनाए ।
'आइतबार राति साढे ९ बजे पानीले भिजेको अवस्थामा मेरो होटलमा आएका थिए,' व्यवसायी शाहीले भने, 'घर कालिकोटको गेला हो भनेपछि सोधीखोजी गर्दा आफ्नै गाउँका बालक रहेछन् ।' घरबाट एक जनाले २४ हजार र अर्को एक जनाले १७ हजार बाटो खर्च ल्याएर अभिभावकबाट लुकेर भारत जान आएको उनले सुनाए । शाहीका अनुसार घरबाट ल्याएको ११ हजार रुपैयाँ गाडीभाडा, खाना, नास्ता गर्दा बाटोमै खर्च गरिसकेको अवस्थामा २१ हजार नगदसहित दुई बालकलाई सोमबार बिहान अभिभावकको जिम्मा लगाइएको र दुई जनाका आफन्त नेपालगञ्ज आउँदै गरेका छन् ।
कालिकोटबाट हराएका बालक खोजीका लागि आफन्तले प्रहरी चौकी पिली र जिल्ला प्रहरी कार्यालय कालिकोटमा खबर गरेपछि प्रहरीले सुर्खेत बांगेसिमललगायतका प्रहरी पोस्टमा खबर गर्दा समेत पत्ता नलागेका बालक नेपालगञ्जमा भेटिएको हराएका बालक अर्जुन शाहीका बुबा तुलाराज शाहीले बताए ।
कर्णाली राजमार्ग हुँदै विद्यालय पढ्ने उमेरका बालबालिका भागेर भारत जाने गरेकाले बीचैमा पढाइ छाड्ने बालबालिकाको संख्या बढ्दै गएका शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रकाश धितालले बताए ।
